close

२८ करोड बढी क्रोम प्रयोगकर्ताले डाउनलोड गरेका एक्सटेन्सनमा खतरनाक मालवेयर, अब के गर्ने ?

टेकपाना टेकपाना

असार १३, २०८१ १६:३०

२८ करोड बढी क्रोम प्रयोगकर्ताले डाउनलोड गरेका एक्सटेन्सनमा खतरनाक मालवेयर, अब के गर्ने ?

काठमाडौं । तीन वर्षको अवधिमा गुगल क्रोम प्रयोगकर्ताले डाउनलोड गरेका विभिन्न एक्सटेन्सनमा मालवेयर रहेको देखिएको छ । स्ट्यान्डफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताले सार्वजनिक गरेको अनुसन्धानले यस्तो तथ्य सार्वजनिक गरेको हो ।

अनुसन्धानमा क्रोम वेब स्टोरका एक लाख २५ हजार एक्सटेन्सनको कोड विश्लेषण गरिएको थियो । जुलाई २०२० देखि फेब्रुअरी २०२३ सम्म कुल ३४ करोड ६० लाख प्रयोगकर्ताले क्रोम एक्सटेन्सन इन्स्टल गरेका थिए । त्यसमध्ये २८ करोड बढी प्रयोगकर्ताले मालवेयर भएका क्रोम एक्सटेन्सन इन्स्टल गरेको अध्ययनकाे निष्कर्ष छ ।  

तर, गुगलले भने अढाई लाख क्रोम एक्सटेन्सन रहेकोमा एक प्रतिशतभन्दा पनि कम एक्सटेन्सनमा मात्र मालवेयर रहेको दाबी गरेको छ ।

स्ट्याट काउन्टरको डेटा अनुसार क्रोमले ६५.१२ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ । अहिलेको समयमा यो नै सबैभन्दा प्रमुख ब्राउजर हो ।

एक्सटेन्सनको मालवेयरबाट कसरी सुरक्षित हुने ?

गुगलले क्रोम एक्सटेन्सनमा भएको मालवेयरबाट जोगिनेबारे टिप्स दिएको छ: 

  • क्रोम एक्सटेन्सन बुझ्ने । विशेषगरी प्रयोगकर्ताका लागि उपयुक्त हुने र राम्रा टेक्निकल प्राक्टिस अपनाउने एक्सटेन्सनलाई क्रोमले भेरिफाइड र फिचर्ड ब्याज उपलब्ध गराएको हुन्छ । 

  • आफूले इन्स्टल गर्न लागेको एक्सटेन्सनको रिभ्यु हेर्ने । 

  • एक्सटेन्सनको प्राइभेसी पोलिसी अध्ययन गर्ने । विशेषगरी कसरी त्यस एक्सटेन्सनले डेटा व्यवस्थापन गर्छ भन्ने बुझ्ने । 

  • कुनै पनि वेबसाइटमा विज्ञापनका रूपमा देखिने क्रोम एक्सटेन्सनबारे सचेत हुनुहोस् । 

  • आफूले इन्स्टल गरेको क्रोम एक्सटेन्सनको रिभ्यु गर्नुहोस् । 

  • आफूलाई आवश्यक नहुने एक्सटेन्सन अनइन्स्टल गर्नुहोस् ।

  • एक्सटेन्सनले माग्ने पर्मिसनबाट सचेत हुनुहोस् ।

  • एक्सटेन्सन जुन प्रयोजनका लागि इन्स्टल गरिएको हो, त्यसको मात्र पर्मिसन दिनुहोस् । 

  • क्रोम ब्राउजरमा इनह्यान्स्ड प्रोटेक्सन इनेबल गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असार १३, २०८१ १६:४०