close

‍नेपाली बजारमा ‘भिभो वाई २८’ आउँदै, कति होला मूल्य ?

टेकपाना टेकपाना

असार १४, २०८१ १९:३७

‍नेपाली बजारमा ‘भिभो वाई २८’ आउँदै, कति होला मूल्य ?

 

काठमाडौं । नेपाली बजारमा  ‘भिभो वाई २८’ स्मार्टफोन भित्रिने भएको छ । कम्पनीले आउँदो बिहीवार नेपाली उपभोक्तामाझ यो फोन सार्वजनिक गर्ने तयारी गरेको हो ।

भिभोले यस फोनलाई टिकाउ ब्याट्री भएको फोनका रूपमा चर्चा गरेको छ । त्यसबाहेक स्टोरेज र फर्ममेन्सलाई‌ पनि उच्च प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।

स्लिम बडी भएको भिभो वाई २८ मा प्रिमियम फोनको अनुभव दिने लक्जरी डिजाइन छ । त्यस्तै यसमा भएको डाइनामिक लाइटले फोनलाई थप स्तरीय बनाएको छ ।

फाेनमा ६००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । यसलाई चार्ज गर्न कम्पनीले बक्समै ४४ वाट फ्लाश चार्जर उपलब्ध गराउने छ ।

कल मात्रै गर्ने हो भने यो फोनको ब्याट्री ३४.६ घण्टासम्म टिक्ने कम्पनीको दाबी छ । त्यस्तै युट्युब हेर्दा २४.१ घण्टा, इन्स्टाग्राम ब्राउज गर्दा १४.४ घण्टा र पब्जी खेल्दा ७.२ घण्टा ब्याट्री टिक्ने कम्पनीले जनाएको छ । 

यस फोनको ब्याट्री हेल्थमा चार वर्षको वारेन्टी दिइएको छ । अर्थात् १६०० चार्जिङ साइकल रहेको फोनको ब्याट्री चार वर्षसम्म निर्धक्क ८० प्रतिशत ब्याट्री हेल्थमा चल्ने कम्पनीको भनाइ छ । 

यसमा मेटालिक हाई ग्लास फ्रेम अर्थात मेटलको फ्रेम राखिएको छ । यो फोन दुई ओटा कलर भेरियन्टमा नेपालमा उपलब्ध हुनेछ । त्यसमध्ये ग्लिमिङ अरेन्ज भेरियन्टमा उपलब्ध हुने फोनको तौल १८८ ग्राम हुनेछ भने एगेट ग्रिन कलर भेरियन्टको फोनको तौल १७९ ग्राम हुनेछ ।

त्यस्तै ग्लिमिङ ओरेन्ज भेरियन्टको चौडाइ ७.७५ एएमएम र एगेट ग्रिनको तौल ७.६५ एमएम हुनेछ । अर्थात् ग्लिमिङ ओरेञ्जभन्दा एगेट ग्रिन स्लिम छ । त्यस्तै एगेट ग्रिनको पछाडिपट्टिको भाग एन्टि फ्रिङ्गरप्रिन्ट अर्थात् औंठा छाप नबस्ने किसिमको छ । त्यसबाहेक यो भेरियन्टमा कभर लगाए पनि धब्बा नबस्ने, नकोतारिने विशेषता छन् । 

क्यामेराका सन्दर्भमा यसमा दुई ओटा क्यामेरा समावेश छन् । मुख्य क्यामेरा ५० मेगापिक्सेलको छ भने अर्को सेन्सर २ मेगापिक्सलको छ । यसमा फ्लाश लाइट र डाइनामिक लाइट गरी दुई ओटा लाइट छन् ।

डाइनामिक लाइटलाई फोनबाटै कस्टमाइज गर्न सकिन्छ । विशेषगरी म्युजिक बजेको बेला लाइट झिमझिम हुने, फोटो खिच्दा काउन्टडाउनको काम गर्ने र मेसेज वा कल आउँदा नोटिफिकेसनका रूपमा फ्लाश बल्ने गरी यसलाई मिलाउन सकिन्छ । 

सेल्फी क्यामेराका सन्दर्भमा यसमा ८ मेगापिक्सेलको सेन्सर राखिएको छ । 

फोनमा फर्ममेन्स सबैभन्दा आकर्षक पक्ष हो । यसमा मिडियाटेक हेलियो जी८५ चिपसेट राखिएको छ । २.० गिगाहर्ज क्षमताको अक्टाकोर सीपीयू, १ गिगाहर्जसम्मको एआरएम मली-जी५२ जीपीयू रहेको छ ।

यसमा भएका प्रोसेसरले ब्याट्रीलाई लामो समयसम्म टिकाइराख्न मद्दत गर्ने बताइएको छ । त्यस्तै यस प्रोसेसरले गेमिङ एक्सपिरियन्स स्तरीय बनाउने, हेभी गेम पनि फास्ट लोड गर्न सघाउने कम्पनीको भनाइ छ ।

एन्ड्रोइड १३ तथा भिभोको आफ्नै अपरेटिङ सिस्टम फनटचको भर्सन १४ द्वारा यो फोन सञ्चालित छ । दुई वर्षसम्मको एन्ड्रोइड ओएस अपडेट पाउने र फनटच ओएस अपडेट पाइने बताइएको छ । यो फोनले आईपी ६४ रेटिङ पाएको छ । अर्थात् भिजेकै हातले पनि फोन सहजै प्रयोग गर्न सकिने छ । 

स्क्रिनका सन्दर्भमा यसमा ९० हर्ज रिफ्रेश रेटको ६.६८ इन्च आईपीएस एलसीडी डिस्प्ले छ । यसले उच्चतम १००० निट्सको ब्राइटेस दिनसक्ने कम्पनीको भनाइ छ ।

यसमा एक्सेलेरोमिटर, एम्बियन्ट लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, ईकम्पास, मोटर र फ्रिङ्गरप्रिन्ट लगायतका सेन्सर छन् ।

८ जीबी र्‍याममा उपलब्ध हुने फाेनमा थप ८ जीबी भर्चुअल र्‍याम थप्न मिल्छ । यो फोन १२८ जीबी इन्टर्नल स्टोरेज र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा खरिद गर्न सकिन्छ । 

कम्पनीले हालसम्म यस फोनको मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छैन । यद्यपि कम्पनीले यो फोन २५ हजारदेखि ३० हजार रुपैयाँभित्र खरिद गर्न सकिने सङ्केत दिएको छ ।

पछिल्लो अध्यावधिक: असार १४, २०८१ १९:३७