close

सिप्रदीले यात्रीसँग मिलेर नेपालमै विद्युतीय स्कुटर उत्पादन गर्ने

टेकपाना टेकपाना

असार १६, २०८१ ११:२६

सिप्रदीले यात्रीसँग मिलेर नेपालमै विद्युतीय स्कुटर उत्पादन गर्ने

काठमाडौं । संयुक्त रूपमा दुई पाङ्ग्रे विद्युतीय सवारी साधन उत्पादन गर्न सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलबिच सम्झौता भएको छ । नेपालमै विद्युतीय स्कुटरको अध्ययन, अनुसन्धान तथा विकासका लागि 'जोइन्ट भेञ्चर' स्थापना गर्न शुक्रबार दुई कम्पनीबिच सम्झौता भएको हो । 

यस अन्तर्गत सिप्रदी ट्रेडिङले लगानी गर्ने र यात्री मोटरसाइकलले बजार अध्ययन, अनुसन्धान र विकास तथा अन्य प्राविधिक काम गर्ने सम्झौता भएको छ । “संयुक्त रूपमा विद्युतीय स्कुटर बनाउनका लागि नै सहकार्य गरेका छौं,” यात्री मोटरसाइकलका एक प्रतिनिधिले भने, “हामीले डिजाइनको चरणदेखि नै काम गर्छौं । उत्पादन मात्र नभई त्यसको अनुसन्धान र विकासको काम गरिरहेका छौं । एउटा सोच अर्थात् अवधारणादेखि उत्पादन तयार पार्ने काम सम्म हामी गर्छौं । सिप्रदीले यसका लागि आवश्यक लगानी गर्ने गरी सम्झौता भएको हो ।”

विशेषगरी विद्युतीय सवारी साधन उत्पादनको रूपमा बजारमा आउनुअघि त्यसको पृष्ठभूमिमा थुप्रै काम भएका हुन्छन् । खासगरी सबैभन्दा पहिला बजार अध्ययन गरिन्छ । बजारमा कस्ता किसिमका सवारी साधन आवश्यक छन् भन्ने पहिचान गरिन्छ । 

“हाम्रो सडकलाई सुहाउने विद्युतीय स्कुटर नभएकाले नै त्यतातर्फ मानिसहरूको रुचि नभएको देखिन्छ,” उनले भने, “सर्वसुलभ, बढी रेन्ज दिने, अफ रोडमा प्रयोग गर्न सकिने स्कुटरको खाँचो छ ।”

बजार अध्ययनपछि विद्युतीय सवारी साधनको अवधारणा तयार पारिन्छ । विशेषगरी अरू सवारी साधनभन्दा त्यसलाई कसरी पृथक् बनाउने भन्ने अध्ययन गरिएको हुन्छ । 

त्यसपछि आवश्यक प्रविधि र उपकरणका लागि प्राविधिक अध्ययन गरिन्छ । 

यति गरेपछि डिजाइन र इन्जिनियरिङको काम अगाडि बढ्छ । त्यसमा पनि सबैभन्दा पहिला त्यसको डिजाइन लेआउट तयार पारिन्छ । त्यसपछि सोको आकार, तौल र अन्य भौतिक विशेषता के-कस्तो राख्ने भन्ने तय हुन्छ । 

यति गरेपछि ब्याट्री, मोटर र ब्रेकिङ सिस्टम छनोट गरिन्छ । त्यसपछि समावेश गरिने पाटपुर्जाका आधारमा त्यसको पर्फमेन्स कस्तो हुन्छ भन्ने निर्धारण गरिन्छ । त्यस्तै सीएडी मोडेल र प्राविधिक ड्रइङ सँगसँगै अगाडि बढ्छन् । विस्तृत इन्जिनियरिङपछि प्रोटोटाइप तयार गरिन्छ र यसमा लगानी पनि धेरै चाहिन्छ । 

हालसम्म विद्युतीय स्कुटर उत्पादन गर्ने परियोजनामा सिप्रदीले कति लगानी गर्छ भन्ने खुलाइएको छैन । यद्यपि डेढ वर्षभित्र प्रोटोटाइप तयार पार्ने गरी काम अगाडि बढ्ने बताइएको छ । 

प्रोटोटाइप तयार भएपछि प्रोडक्ट निर्माणका लागि अर्को सम्झौता हुनेछ । सिप्रदी ट्रेडिङ नेपालमा चार पाङ्ग्रे पेट्रोलियम तथा विद्युतीय सवारी साधन बिक्री गर्दै आएको कम्पनी हो । 

यात्री मोटरसाइकलले भने नेपालम‍ा नै कारखाना स्थापना गरी विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएको छ । सन् २०१९ मा यात्रीले आफ्नो पहिलो विद्युतीय बाइक प्रोजेक्ट जेरो सार्वजनिक गरेको थियो । 

कम्पनीको अर्को बाइक प्रोजेक्ट वन जेनेरसन टु बजारमा आउने तयारीमा छ । आउँदो दशैंमा यो मोडेल बजारमा ल्याउने लक्ष्य राखिएको भए पनि थप समय लाग्ने भएपछि नयाँ वर्ष २०८२ तिर सार्वजनिक गर्ने तयारीमा कम्पनी जुटेको छ ।

 

पछिल्लो अध्यावधिक: असार १६, २०८१ १५:२६