close

नेपालमै पहिलोपटक रोबोटबाट सम्पन्न भयो बिरामीको शल्यक्रिया

टेकपाना टेकपाना

असार १६, २०८१ ११:५८

नेपालमै पहिलोपटक रोबोटबाट सम्पन्न भयो बिरामीको शल्यक्रिया

काठमाडौं । नेपालमा पहिलो पटक ललितपुरको बीएण्डबी अस्पतालमा रोबोटबाट सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ । अस्पतालले एकै दिन सफलतापूर्वक तीन ओटा रोबोटिक शल्यक्रिया गरेको हो ।  

वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट तीन जना महिलाको शल्यक्रिया गरेकी हुन् । ल्याप्रोस्कोपिक सर्जन तथा आईभीएफ विशेषज्ञ समेत रहेकी शर्माले रोबोटिक प्रक्रियाबाट एक ५२ वर्षीया महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिस्ट र अर्की ३४ वर्षकी महिलाको पाठेघरको ट्युमर निकालेकी हुन् । 

नेपालमा पहिलोपटक रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लिना मेहरोटाले स्क्रिन शेयर गरेर अनुगमन गरिरहेकी थिइन् । रोबोटिक सर्जरी गरिएका तीनै जना बिरामी डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ ।  

देशमै पहिलो रोबोटिक सर्जरीको रेकर्ड बनाउन सफल भएपछि डा. शर्माले यो सफलतालाई आफ्नो जीवनकै सर्वाधिक ठुलो उपलब्धि भएको प्रतिक्रिया दिएकी छिन् । 

“यो मेरो करिअरको महत्त्वपूर्ण क्षण त हो नै, त्यो भन्दा बढी नेपालको स्वास्थ्य क्षेत्रका लागि एक कोशेढुंगा हो,” डा. शर्माले भनिन्, “त्यसमाथि देशमै पहिलो रोबोटिक सर्जरी गर्ने रेकर्ड हामीले राख्नु अर्को गर्वको विषय भयो ।” 

बीएन्डबी अस्पतालका सहायक निर्देशक डा. निरज वैद्यका अनुसार रोबोटिक सर्जरी अब स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्रै नभएर अन्य रोगका बिरामीको उपचारमा पनि प्रयोगमा ल्याइने छ ।  

यो उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुआत गरेको उनले बताए । शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदाजनक भएको डा. शर्माले भनाइ छ । उनका अनुसार रोबोटिक प्रणालीले ठुलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्न सक्छ । 

यसले गर्दा जटिलताको जोखिम घटाउने र शल्यक्रिया परिणामहरूमा सुधार ल्याउने उनले सुनाइन । रोबोटिक शल्यक्रिया न्यूनतम चिरफारमा सम्पन्न हुने हुँदा बिरामीहरूलाई खासै पीडा नहुने र घाउ अनि खत पनि धेरै नरहने उनको भनाइ छ । 

३६० डिग्रीमै घुमेर शल्यक्रिया गर्न सक्ने रोबोटको चुस्त काम टाढैबाट गर्न सकिने हुनाले चिकित्सकबाट बिरामीमा संक्रमण हुने सम्भावनालाई समेत पूरै हटाएको डा. शर्माको दाबी छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८१ ११:५८