close

आईएमई ग्रुपले ईकमर्स कम्पनी सस्तोडिलको बहुमत शेयर खरिद गरी पुनः सञ्चालनमा ल्याउने

टेकपाना टेकपाना

असार २१, २०८१ १४:१५

आईएमई ग्रुपले ईकमर्स कम्पनी सस्तोडिलको बहुमत शेयर खरिद गरी पुनः सञ्चालनमा ल्याउने

काठमाडौं । नेपाली ईकमर्स कम्पनी सस्तोडिल पुन: सञ्चालनमा आउने भएको छ । छ महिनाअघि बन्द भएको सस्तोडिल साउनदेखि पुन: ब्युँताउने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

कम्पनीका अनुसार अहिले सस्तोडिलमा शेयर हेरफेरको काम भइरहेको छ । यसअन्तर्गत कम्पनीमा रहेको डोल्मा इम्प्याक्ट कोषको ६० प्रतिशत शेयर आईएमई ग्रुपले खरिद गर्नेगरी प्रक्रिया चलिरहेको बुझिएको छ ।

हाल सस्तोडिलमा आईएमई ग्रुपको १० प्रतिशत शेयर छ । डोल्माको ६० प्रतिशत शेयर खरिद गरेसँगै आईएमईको ७० प्रतिशत शेयर पुग्ने र आईएमईको इकोसिस्टममा ईकमर्स कम्पनी चलाउने तयारी भइरहेको छ ।

“हामी प्रक्रियामै छौं,” कम्पनी स्रोतले भन्यो “अहिलेको बोर्डले सबै शेयरधनीसँग छलफल गरिरहेको छ । सस्तोडिलमा एउटाको बहुमत शेयर हुने भन्ने छ । आन्तरिक रूपमा शेयर खरिद बिक्रीको कानुनी प्रक्रिया सकिएपछि नयाँ रणनीतिका साथ कम्पनी सञ्चालनमा आउने छ  ।” 

हाल कम्पनीमा आईएमई  ग्रुप, रमेश कर्प, एनआईएमबी एस क्यापिटल लगायतका कम्पनी तथा सस्तोडिलका संस्थापक अमुन थापाको शेयर रहेको छ ।

साउनदेखि ईकमर्स प्लेटफर्म लाइभ गर्ने तयारी भए पनि कम्पनीले तत्कालै आक्रामक रूपमा बजार विस्तार गर्ने योजना ल्याएको छैन ।

“नयाँ रणनीतिका साथ जान केही समय लाग्ने भएकाले तत्कालै नाटकीय परिवर्तन हुँदैन । पहिले चार हजारसम्म भेन्डर थिए, त्यो अवस्था अहिले छैन । समयमै डेलिभरी हुँदैनथ्यो । आउट अफ स्टकको समस्या थियो । युजर इन्टरफेसको समस्या थियो । यी सबै कमजोरी सुधार्न तीन-चार महिनासम्म लाग्छ । त्याे बेलासम्म अन्य आन्तरिक तयारी पनि सकी सेवा  सञ्चालनमा ल्याउनेछाैं," कम्पनीका एक अधिकारीले भने । 

सन् २०११ मा स्थापना भएको सस्तोडिलले सन् २०१६ पछि लगानीकर्ता भित्र्याउन थालेको थियो । ​यो अवधिमा नेपालकै चर्चित ईकमर्स कम्पनी बनेको सस्तोडिलले भारतको चर्चित ईकमर्स प्लेटफर्म फ्लिपकार्ट, मिन्त्रा र सेल्सबेरीसँग समेत सहकार्य गरेको थियो । तर सोचे अनुसार कम्पनी चल्न सकेन । गत डिसेम्बरयता भने कम्पनीको व्यवसाय बन्द अवस्थामा छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८१ १५:१७