close

सीटीईभीटीका विद्यार्थीलाई पढ्दै कमाउने अवसर

टेकपाना टेकपाना

असार २१, २०८१ १७:३२

सीटीईभीटीका विद्यार्थीलाई पढ्दै कमाउने अवसर

काठमाडौं । अब प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का विद्यार्थी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका परियोजनामा काम गर्न पाउने भएका छन् । पढ्दै, कमाउँदै अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप विद्यार्थीले यस्तो अवसर पाउन लागेका हुन् ।

बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच यस विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस अन्तर्गत सीटीईभीटीका विद्यार्थीहरूले ऊर्जा मन्त्रालयका परियोजनाहरूमा ‘अप्रेन्टिसशिप’ (apprenticeship) मोडेलमा सहभागी भएर सिक्दै कमाउन पाउने छन् ।

यसले विद्यार्थीहरूको सीप अभिवृद्धि सुनिश्चित गर्ने अपेक्षा गरिएको बताइएको छ । अर्थात् अब ऊर्जा मन्त्रालयले आफ्ना विभिन्न परियोजनामा सीटीईभीटीका विद्यार्थीलाई कामको अवसर दिनेछ ।

अहिले सीटीईभीटीले प्रि-डिप्लाेमा (१८ महिने) र डिप्लाेमा तह (तीन वर्षे) मा गरी विभिन्न प्राविधिक विषय पढाइरहेको छ । यी तह अन्तर्गत देशभर १०६ शैक्षिक संस्थामा सीटीईभीटीका विभिन्न कोर्स सञ्चालन भइरहेका छन् ।

जसमा सीटीईभीटीबाट सम्बन्धन तथा स्वीकृति प्राप्त २३ विद्यालय, ११ आङ्गिक विद्यालय, प्राविधिक शिक्षा (टीईसीएस) मोडालिटी अन्तर्गत ६२ ओटा सामुदायिक विद्यालय र साझेदारी (गाउँ/नगर) मोडालिटी अन्तर्गत १० शैक्षिक संस्था छन् ।

पछिल्लो अध्यावधिक: असार २१, २०८१ १७:४३