२०० मेगापिक्सेल क्यामेरा सहित सामसङको अहिलेसम्मकै पातलो फोन ‘ग्यालेक्सी एस२५ एज’ सार्वजनिक
बैशाख ३०, २०८२ ७:४५
काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस२५ एज स्मार्टफोन सार्वजनिक गरेको छ । नेपाली समय अनुसार आज बिहान एक भर्चुअल कार्यक्रम गर्दै कम्पनीले एस सिरिजमा अहिलेसम्मकै पातलो फोन सार्वजनिक गरेको हो ।
५.८ मिलिमिटर मात्र पातलो फोनमा टाइटानियम फ्रेम प्रयोग गरिएको छ । कम्पनीका अनुसार यो फोन पातलो र स्टाइलिससँगै बलियो पनि छ । फोनको डिस्प्लेमा नयाँ पुस्ताको कोर्निङ गोरिल्ला ग्लास सेरामिक टु प्रयोग गरिएको छ ।
पातलो र हल्का भएकाले प्रयोगकर्ताहरूले सजिलै फोटो खिच्न र आफ्नो रचनात्मकता देखाउन सक्ने कम्पनीको भनाइ छ । यसमा २०० मेगापिक्सेलको वाइड लेन्स दिइएको छ । यसको अल्ट्रा-हाइ रेजोलुसनले कम प्रकाशमा पनि ४० प्रतिशत बढी उज्यालो फोटो खिच्न मद्दत गर्ने कम्पनीको दाबी छ । साथै, १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरामा अटोफोकस सुविधा पनि छ । यसमा टेलिफोटो क्यामेरा भने छैन । अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
फोनमा ग्यालेक्सी एस२५ मा प्रयोग भएको प्रोभिजुअल इन्जिन जस्ता प्रो-ग्रेड फिचरहरू छन् । अडियो इरेजर र ड्रइङ असिस्ट सहितका ग्यालेक्सी एआई-पावर्ड एडिटिङ फिचरहरू पनि छन् ।
फोनमा स्न्यापड्रागन ८ जेन थ्री फर ग्यालेक्सी चिपसेट प्रयोग गरिएको छ । फोनलाई तातो हुन नदिन यसमा पातलो तर फराकिलो भेपर चेम्बर राखिएको छ ।
सामसङका अनुसार यसमा प्रोस्केलर सहितको एड्भान्स्ड एआई इमेज प्रोसेसिङ छ । यसले डिस्प्ले इमेज स्केलिङको गुणस्तर ४० प्रतिशतसम्मले बढाउँछ ।
ग्यालेक्सी एस२५ एजमा ग्यालेक्सी एआईका धेरै फिचरहरू छन् । यी फिचरले प्रयोगकर्ताको दिनचर्या बुझेर स्वचालित रूपमा सूचना र सल्लाह दिन सक्छन् । यसले गुगलको जेमिनाई लाइभ जस्ता सुविधासँग पनि काम गर्छ ।
सुरुवाती मूल्य १०९९ अमेरिकी डलर (करिब एक लाख ५० हजार रुपैयाँ) रहेको फोन टाइटानियम सिल्भर, टाइटानियम जेटब्ल्याक र टाइटानियम आइसीब्लू कलर अप्सनमा उपलब्ध हुनेछ ।
| विशेषता | विवरण |
|---|---|
| डिस्प्ले | 6.7" QHD+ Dynamic AMOLED 2X, 120Hz refresh rate, Vision Booster, Adaptive Color Tone |
| आकार र तौल | 75.6 x 158.2 x 5.8 mm, 163g |
| मुख्य क्यामेरा | 200MP Wide (OIS, F1.7, 2x zoom), 12MP Ultra-Wide (F2.2) |
| फ्रन्ट क्यामेरा | 12MP (F2.2) |
| र्याम र स्टोरेज | 12GB RAM + 256GB / 512GB storage |
| ब्याट्री | 3,900 mAh (typical), 3,786 mAh (minimum) |
| चार्जिङ सुविधा | 25W wired charging (55% in 30 min), Fast wireless charging, Wireless PowerShare |
| अपरेटिङ सिस्टम | Android 15, One UI 7 |
| नेटवर्क र कनेक्टिभिटी | 5G, LTE, Wi-Fi 7, Wi-Fi Direct, Bluetooth 5.4 |
| पानी तथा धूलो प्रतिरोध | IP68 certified (up to 1.5m water for 30 minutes) |
पातलो डिजाइनसहित सामसङ ग्यालेक्सी एस२५ एज सार्वजनिक हुँदा एप्पलले पनि चाँडै नै आईफोन १७ एयर ल्याउँदैछ । यो अझ पातलो (झन्डै ५.५ मिलिमिटर) र हलुका टाइटेनियम फ्रेमसहित आउने अनुमान छ । त्यस्तै, एप्पलको नयाँ ए१९ चिप, प्रो मोसनसहितको ६.६ इन्चको डिस्प्ले र म्यागसेफ चार्जिङ सपोर्टले यसलाई विशेष बनाउने अपेक्षा गरिएको छ । दुई कम्पनीबिचको यो प्रतिस्पर्धाले ‘स्लिम फोन वार’ अझ चर्किने र प्रयोगकर्ताहरूका लागि नयाँ डिजाइन र प्रविधिमा थप रोमाञ्चकता ल्याउन सक्ने विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ ८:१०
