काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस२५ एज स्मार्टफोन सार्वजनिक गरेको छ । नेपाली समय अनुसार आज बिहान एक भर्चुअल कार्यक्रम गर्दै कम्पनीले एस सिरिजमा अहिलेसम्मकै पातलो फोन सार्वजनिक गरेको हो ।
५.८ मिलिमिटर मात्र पातलो फोनमा टाइटानियम फ्रेम प्रयोग गरिएको छ । कम्पनीका अनुसार यो फोन पातलो र स्टाइलिससँगै बलियो पनि छ । फोनको डिस्प्लेमा नयाँ पुस्ताको कोर्निङ गोरिल्ला ग्लास सेरामिक टु प्रयोग गरिएको छ ।
पातलो र हल्का भएकाले प्रयोगकर्ताहरूले सजिलै फोटो खिच्न र आफ्नो रचनात्मकता देखाउन सक्ने कम्पनीको भनाइ छ । यसमा २०० मेगापिक्सेलको वाइड लेन्स दिइएको छ । यसको अल्ट्रा-हाइ रेजोलुसनले कम प्रकाशमा पनि ४० प्रतिशत बढी उज्यालो फोटो खिच्न मद्दत गर्ने कम्पनीको दाबी छ । साथै, १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरामा अटोफोकस सुविधा पनि छ । यसमा टेलिफोटो क्यामेरा भने छैन । अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
फोनमा ग्यालेक्सी एस२५ मा प्रयोग भएको प्रोभिजुअल इन्जिन जस्ता प्रो-ग्रेड फिचरहरू छन् । अडियो इरेजर र ड्रइङ असिस्ट सहितका ग्यालेक्सी एआई-पावर्ड एडिटिङ फिचरहरू पनि छन् ।
फोनमा स्न्यापड्रागन ८ जेन थ्री फर ग्यालेक्सी चिपसेट प्रयोग गरिएको छ । फोनलाई तातो हुन नदिन यसमा पातलो तर फराकिलो भेपर चेम्बर राखिएको छ ।
सामसङका अनुसार यसमा प्रोस्केलर सहितको एड्भान्स्ड एआई इमेज प्रोसेसिङ छ । यसले डिस्प्ले इमेज स्केलिङको गुणस्तर ४० प्रतिशतसम्मले बढाउँछ ।
ग्यालेक्सी एस२५ एजमा ग्यालेक्सी एआईका धेरै फिचरहरू छन् । यी फिचरले प्रयोगकर्ताको दिनचर्या बुझेर स्वचालित रूपमा सूचना र सल्लाह दिन सक्छन् । यसले गुगलको जेमिनाई लाइभ जस्ता सुविधासँग पनि काम गर्छ ।
सुरुवाती मूल्य १०९९ अमेरिकी डलर (करिब एक लाख ५० हजार रुपैयाँ) रहेको फोन टाइटानियम सिल्भर, टाइटानियम जेटब्ल्याक र टाइटानियम आइसीब्लू कलर अप्सनमा उपलब्ध हुनेछ ।
विशेषता
विवरण
डिस्प्ले
6.7" QHD+ Dynamic AMOLED 2X, 120Hz refresh rate, Vision Booster, Adaptive Color Tone
25W wired charging (55% in 30 min), Fast wireless charging, Wireless PowerShare
अपरेटिङ सिस्टम
Android 15, One UI 7
नेटवर्क र कनेक्टिभिटी
5G, LTE, Wi-Fi 7, Wi-Fi Direct, Bluetooth 5.4
पानी तथा धूलो प्रतिरोध
IP68 certified (up to 1.5m water for 30 minutes)
पातलो डिजाइनसहित सामसङ ग्यालेक्सी एस२५ एज सार्वजनिक हुँदा एप्पलले पनि चाँडै नै आईफोन १७ एयर ल्याउँदैछ । यो अझ पातलो (झन्डै ५.५ मिलिमिटर) र हलुका टाइटेनियम फ्रेमसहित आउने अनुमान छ । त्यस्तै, एप्पलको नयाँ ए१९ चिप, प्रो मोसनसहितको ६.६ इन्चको डिस्प्ले र म्यागसेफ चार्जिङ सपोर्टले यसलाई विशेष बनाउने अपेक्षा गरिएको छ । दुई कम्पनीबिचको यो प्रतिस्पर्धाले ‘स्लिम फोन वार’ अझ चर्किने र प्रयोगकर्ताहरूका लागि नयाँ डिजाइन र प्रविधिमा थप रोमाञ्चकता ल्याउन सक्ने विश्लेषण गरिएको छ ।