काठमाडौं । अटोपाइलट मोडमा राखेको टेस्ला गाडी झुक्किएर रेलको लिगमा पुगेको एउटा घटनाले अहिले चर्चा बाहिरिएको छ । एक ड्राइभरले अटोपाइलट मोडमा राखेको गाडी बाटो छोडी रेलको लिगमा कुदेको हो ।
यो घटना अमेरिकाको साक्रामेन्ट सहरको उत्तरपश्चिमको उडल्यान्ड भन्ने ठाउँको हो । उक्त घटनापछि बुधबार स्थानीय प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा लिगमा कुदेको टेस्लाको फोटो सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार अटोपाइलट सिस्टममा खराबी आउँदा त्यस्तो घटना निम्तिएको हो । “अटोपाइलटले रेलको लिगलाई बाटो ठान्दा गम्भीर खतरा निम्त्याउने घटना भएको हो,” प्रहरीले फेसबुकमा भनेको छ । यात्रुको परिचय भने गोप्य राखिएको छ । उक्त दुर्घटनामा गाडी क्षति भएको वा ड्राइभरलाई चोटपटक लागे नलागेको विषय बाहिर आएको छैन ।
हाल यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । अटोपाइलट मोडमा गाडी चलाइरहँदा त्यसमा थुप्रै जोखिम हुने भएकाले सचेत हुन प्रहरीले अनुरोध गरेको छ ।
यस्ता छन् अटोपाइलट मोडमा सवारी चलाउँदा अपनाउनुपर्ने प्रहरीका सुझाव
सधैं स्टेरिङमा हात राख्ने । जुनसुकै बेला गाडी नियन्त्रणमा लिन सक्ने गरी तयारीमा बस्ने ।
दैनिक रूपमा सिस्टम जाँच गर्ने ।
अटोपाइलट असिस्टेन्ट फिचर मात्र हो । ड्राइभिङको विकल्प कहिल्यै नसोच्ने ।