काठमाडौं । माइक्रोसफ्टले पहिलो पटक विन्डोज नोटप्याडमा स्पेलचेक र अटोकरेक्ट फिचर ल्याएको छ । सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध यस फिचरले माइक्रोसफ्टको वर्ड र एज ब्राउजरमा भएको स्पेल चेकर जसरी काम गर्ने कम्पनीले जनाएको छ ।
नोटप्याडको स्पेल चेकर फिचर प्रयोग गरेपछि गल्ती भएका शब्दमा स्वतः रातो रङ्गको अन्डरलाइन देखिने र उक्त शब्दमा क्लिक गरेर सच्याउन सकिने छ । त्यस्तै नाेटप्याडमा आएको अटोकरेक्ट फिचर प्रयोग गरे गल्ती भएका शब्दमा बारम्बार क्लिक गरिरहनु नपर्ने कम्पनीको भनाइ छ ।
पहिलो पटक सन् १९९३ मा माइक्रोसफ्ट डिस्क अपरेटिङ सिस्टम (एमएस डीओएस) मा नोटप्याड आएको थियो । त्यसयता सन् १९८५ पछिको हरेक विन्डोज अपडेटमा नोटप्याड डिफल्ट एपका रुपमा रहँदै आइरहेको छ ।
यस अवधिसम्म माइक्रोसफ्टले नोटप्याडमा खासै अपडेट ल्याएको थिएन । तर पछिल्लो समयदेखि माइक्रोसफ्टले फिचर अपडेट गर्न थालेको छ । यसअघि यो फिचर विन्डोज इन्साइडर्समा मात्र उपलब्ध थियो ।
अहिले भने विन्डोज ११ का सबै प्रयोगकर्ताहरूलाई यो फिचर उपलब्ध गराइएको छ । यससँगै गलत भएका शब्दहरू रातो अन्डरलाइनमा देखिने छ । त्यसलाई सच्चाउन प्रयोगकर्ताले शब्दमा राइट क्लिक गरेर मिलाउन सक्ने छन् ।
हाल यस एपमा क्यारेक्टर काउन्ट, अटो सेभ, डार्क थिम, ट्याब, कोपाइलट एआई इन्टिग्रेसन, भर्चुअल फिडजेट स्निपर लगायतका फिचर रहेका छन् ।