close

के सामाजिक सञ्जालका पोस्टमा इमोजी राख्दा लाइक, कमेन्ट बढी आउँछ ?

टेकपाना टेकपाना

असार ३०, २०८१ १६:६

के सामाजिक सञ्जालका पोस्टमा इमोजी राख्दा लाइक, कमेन्ट बढी आउँछ ?

काठमाडौं । तपाईंले भन्न खोजेको कुरा ठ्याक्कै शब्दमा व्यक्त नहुन सक्छ । अझ विशेषगरी सामाजिक सञ्जालबाट आफ्नो व्यापार व्यवसाय प्रवर्द्धन गरिरहनु भएको छ भने लक्षित ग्राहकले लामा-लामा कन्टेन्ट नपढ्न सक्छन् । यसबाट सोचे जस्तो नतिजा पाउन सकिँदैन ।

यसको एउटा उपाय हो, सामाजिक सञ्जालका पोस्टमा इमोजी प्रयोग गर्नु । आजको डिजिटल युगमा सामाजिक सञ्जालमा मानिसहरूको ध्यान तान्न इमोजी प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ ।  तर, के साँच्चै सामाजिक सञ्जालका पोस्टमा इमोजी राख्दा लाइक र कमेन्ट बढी आउँछ त ? आज हामी यसैबारे चर्चा गर्दैछौं: ​

 

भावनात्मक अपील

इमोजीहरूले भावनात्मक सन्देशलाई सहजै व्यक्त गर्न सक्छन् । यसले पोस्टलाई थप आकर्षक र मानवीय बनाउँछ । उदाहरणका लागि, स्माइली इमोजीले रमाइलो सन्देश पठाउँछ भने क्राइङ इमोजी अर्थात् रुँदै गरेको मुहारले दुःख व्यक्त गर्छ । 

ध्यान आकर्षण

इमोजीहरूले पोस्टको भिजुअल अपिल बढाउँछन् । ट्वीटर र इन्स्टाग्राम जस्ता प्लेटफर्ममा इमोजी अझ महत्त्वपूर्ण हुन्छ, जहाँ पोस्टहरू छिट्टै स्क्रोल गरिन्छ । इमोजीले पोस्टको बीचमा ब्रेक दिने काम गर्छ, जसले प्रयोगकर्ताको ध्यान केन्द्रित गराउँछ । 

ट्रेन्डिङ इमोजीहरूको प्रयोग

समय-समयमा ट्रेन्डिङ हुने इमोजीहरूको प्रयोगले तपाईंको पोस्टलाई अपडेट र ट्रेन्डिङ देखाउन सक्छ । उदाहरणका लागि, नयाँ वर्षमा पटाका इमोजी वा प्रेम दिवसमा मुटुको इमोजी प्रयोग गर्दा पोस्ट समयसापेक्ष बन्न सक्छ । 

प्रयोगमा सावधानी अपनाउनुहोस्

इमोजी प्रयोग गर्दा अत्यधिक प्रयोगबाट बच्नुपर्छ । अत्यधिक इमोजीले पोस्टलाई जटिल र अनप्रोफेसनल देखाउन सक्छ । त्यसैले, सन्तुलन राख्दै सावधानीपूर्वक प्रयोग गर्नु महत्त्वपूर्ण छ । त्यसैगरी प्रत्येक प्लेटफर्ममा इमोजीको प्रभाव फरक हुन सक्छ ।

उदाहरणका लागि, लिङ्क्डइनमा इमोजीको प्रयोग कमै गर्नुपर्छ, जबकि इन्स्टाग्राम र फेसबुकमा इमोजीको प्रयोगले अधिक लाइक र कमेन्ट बटुल्न सक्छ । आफ्नो ब्रान्डको टोन र शैलीअनुसार पनि इमोजी प्रयोग गर्न सकिन्छ । यदि तपाईंको ब्रान्ड प्रोफेसनल छ भने पोस्ट सुहाउँदा इमोजी छान्न सजग हुनुहोस् । 

बिजनेस मेसेजिङमा काम गर्दै आएको इन्टरकम इन्कका अनुसार इमोजी सहितको मेसेजमा ग्राहकले प्रतिक्रिया गर्ने सम्भावना चार गुणाले बढी हुन्छ ।

त्यस्तै इमोजी सहितको पोस्टमा प्रयोगकर्ताले प्रतिक्रिया जनाउने सम्भावना बढी हुने तथा उनीहरूले त्यस्ता पोस्ट अलि बढी बुझ्ने अनुसन्धानहरूले देखाएका छन् । आज हामी इमोजी प्रयोग गरेर सामाजिक सञ्जाल पोस्टमा इङ्गेजमेन्ट बढाउने तरिकाबारे चर्चा गर्ने छौं:

-सिङ्नेचर इमोजी छान्नु 

इन्टरनेटमा सयौं इमोजी छन् । यसकारण एउटै पोस्टमा धेरै इमोजी राख्नुहुन्न । त्यसले तपाईंको पोस्टलाई भद्दा बनाउने र व्यावसायिक देखाउँदैन । त्यही भएर तपाईंले आफ्नो कम्पनी सुहाउँदो र पोस्ट मिल्दो इमोजी छान्नुपर्ने हुन्छ । यसका साथै तिनलाई लगातार प्रयोग गर्दा ग्राहकलाई कम्पनी सम्झन समेत सहयोग पुर्‍याउँछ ।

-कुराकानीलाई मानवीय बनाउनु 

सामाजिक सञ्जालमा कुनै प्रोडक्ट राखेपछि त्यसलाई लिएर विभिन्न जिज्ञासा तथा प्रश्नहरू आउन सक्छ । त्यसमा तपाईं अलि बेसी औपचारिक हुनुभयो भने ग्राहकले सामान खरिद नगर्न सक्छन् । त्यसको साटो तपाईंले अनलाइन कुराकानीलाई अलि रस दिन इमोजी प्रयोग गर्न सक्नुहुन्छ ।  उदाहरणका लागि, अक्षरमा 'हाहा' लेख्नु र स्माइली (😃 ) इमोजी हाल्नुले धेरै फरक पार्न सक्छ ।

-शब्द पर्याप्त नहुँदाको उपाय

ग्राहकसँगको कुराकानी सुरु गर्न होस् अथवा अन्त्य गर्न, इमोजीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । अथवा कतिपय अवस्थामा के लेखौं लेखौं भन्ने भइरहेको अवस्था पनि तपाईंले मेसेजका रुपमा इमोजी पठाउन सक्नुहुन्छ ।

मेसेजमा इमोजी थप्दा त्यसको अर्थलाई अझ परिष्कृत गर्ने मनोवैज्ञानिकहरू बताउँछन् । जसरी वास्तविक रुपमा तपाईंले कुराकानी गर्दा विभिन्न भाव देखाउनुहुन्छ, इमोजीको सहायताबाट त्यस्तै भाव देखाउन सक्नुहुन्छ । उदाहरणका लागि, हेल्लो भनेर मात्र लेख्नु हो साटो 'हेल्लो 👋' पठाउँदा ग्राहकले राम्रो महसुस गर्छन् ।

अब सामाजिक सञ्जालको जमानामा इमोजी महत्त्वपूर्ण हो भन्नेमा दुईमत छैन । यसलाई अझ बढी आफ्नो पोस्टमा अझ बढी इङ्गेजमेन्ट बढाउन तपाईंले इमोजीको पोल गर्न सक्नुहुन्छ । अथवा उपलब्ध इमोजी मन नपरे तपाईंले आफ्नै कस्टमाइज इमोजी पनि बनाउन सक्नहुन्छ । यसका लागि गुगलको जिबोर्ड जस्ता किबोर्डमा विकल्प उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८१ १६:४८