close

दूरसञ्चार प्राधिकरणका कर्मचारी फेरि आन्दालनको तयारीमा, कार्यस्थलमा अक्सिजन नपुगेको गुनासो

टेकपाना टेकपाना

असार ३०, २०८१ २०:१७

दूरसञ्चार प्राधिकरणका कर्मचारी फेरि आन्दालनको तयारीमा, कार्यस्थलमा अक्सिजन नपुगेको गुनासो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूले प्राधिकरणको संस्थागत, संरचनागत र व्यवस्थापकीय सुधारका लागि विभिन्न समयमा पेश गरेका मागहरू सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । जसमा कार्यस्थलमा कालो व्यानर तथा कालो पट्टि बाध्नेदेखि प्राधिकरणका अध्यक्षलाई कार्यालय प्रवेश निषेधसम्मका आन्दोलन राखिएका छन् ।

प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनमा आबद्ध कर्मचारीहरूले आगामी १० दिनभित्र माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनी दिएका हुन् । यसअघि युनियनले २०८० जेठ २४ गते ३० दिने अल्टिमेटम दिएर माग सम्बोधनको लागि ध्यानाकर्षण गराएको थियो । तर त्यसमा कुनै पनि पहल नभएको युनियनले जनाएको छ । 

कर्मचारीहरूले प्राधिकरण व्यवस्थापनसमक्ष चार बुँदे माग राखेका छन्, जसमा पहिलो र सबैभन्दा महत्त्वपूर्ण माग कार्यकक्षको प्रतिकूल वातवरणसँग सम्बन्धित छ । यसअघि कमलादीमा रहेको कार्यालय तीन वर्षअघि राष्ट्रिय नाचघर जमलमा सारिएको थियो । 

नाचघरको भुइँतला र पार्किङमा अक्सिजनको कमी र कार्बनडाइअक्साइड धेरै हुँदा कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यमा जोखिम भएकाले त्यतिबेला देखि नै समस्या समाधान गर्न आवाज उठाएका थिए । 

“मौजुदा नेपाल दूरसञ्चार प्राधिकरणको भवनमा कार्य सम्पादनका दृष्टिकोणले उचित र पर्याप्त अक्सिजन र प्रकाशको न्युनतम मापदण्ड समेत नपुगेकोले अधिकांश कर्मचारीहरूमा स्वास्थ्य समस्या देखिएको सन्दर्भमा उचित स्वास्थ्य वातावरणमा काम गर्ने वातावरण निर्माण गर्नको लागि जोडदार माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

आफ्ना मागहरू सम्बोधन नभए आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने र त्यसबाट सिर्जित हुने सम्पूर्ण परिणामको जिम्मेवारी प्राधिकरण व्यवस्थापनले लिनुपर्ने युनियनले चेतावनी दिएको छ ।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणको आफ्नै स्वामित्वको घर जग्गा तथा भवन निर्माण कार्यको सुनिश्चितता गर्न कर्मचारीहरूले माग राखेका छ्न् । 

त्यस्तै दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूसँग सम्बन्धित नीति, नियम, गुरूयोजना, पदपूर्ति तथा ओ एन्ड एम सर्भे लगायतका विषयहरूमा कर्मचारीहरूको हक, हित, उत्प्रेरणा, पूर्वानुमानयोग्य वृति(विकास सुनिश्चितता हुने गरी तत्काल अगाडि बढाउन युनियनले माग गरेको छ । समग्र दूरसञ्चार सुधारको लागि युनियनले पेश गरेको मागहरू अक्षरसः कार्यान्वयन गर्नको लागि युनियनले पुनः अनुरोध गरेको छ ।

 

पछिल्लो अध्यावधिक: असार ३१, २०८१ ८:४१