close

गुगल म्याप अपडेट गर्न चितवन पुगेको कार स्थानीयले जलाए

टेकपाना टेकपाना

साउन ३, २०८१ ९:१६

गुगल म्याप अपडेट गर्न चितवन पुगेको कार स्थानीयले जलाए

काठमाडौं । रेलमार्गको सर्भे गर्न आएको भन्दै चितवनका स्थानीयले गुगल म्याप्स अपडेट गर्न गएका कर्मचारीको सवारी आगजनी गरेको खुलेको छ । बुधबार दिउँसो भरतपुर महानगरपालिका-७ मा पुगेको आरएस कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर जलाइदिएका थिए । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार स्थानीयले बुझ्दै नबुझी गुगल म्याप्स अपडेट गर्न गएका कर्मचारीको गाडीमा आगो लगाएका हुन् ।

“केही दिनदेखि गाउँमा स्थानीयले गाडीमा ३६० डिग्री क्यामेरा राखेर सर्भे गरिरहेको देखेका थिए,” टेकपानासँग कुरा गर्दै डीएसपी रिजालले भने, “भित्रभित्रै उनीहरू रेलमार्गको सर्भे गर्न आएको भन्ने हल्ला फैलिएछ । रेलमार्ग निर्माण भए बस्ती उजाड हुन्छ भन्ने आशय राखी स्थानीय उनीहरूमाथि खनिएका रहेछन् ।”

“चितवन लगायत देशका २१ जिल्लामा म्याप अपडेटको काम भइरहेको रहेछ,” डीएसपी रिजालले अगाडि भने, “ती कर्मचारीहरू चितवन आउनु भएको आठ दिन जति भएको रहेछ ।”

त्यसअघि भरतपुरको ७, ८, ४ मा रेलमार्ग निर्माणका विरोध भएको थियो । बस्तीबाट रेलमार्ग लैजान नदिने भन्दै सङ्घर्ष समिति नै बनाएर आन्दोलन गरेको थियो । त्यही सङ्घर्ष समितिका अगुवाहरूले आवेशमा आएर आगजनी गरेको हुनसक्ने डीएसपी रिजालले सुनाए ।

घटनामा संलग्नहरूको खोजी भइरहेको उनले सुनाए । रेल मार्ग सर्भे गर्न आएको भन्ने हल्ला कसरी फैलियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले बताए ।

गुगल म्याप अपडेट गर्न गएका कर्मचारी ३६० डिग्री क्यामेरा, मोबाइल र ट्याब लिएर फिल्डमा खटिएका थिए । यस्तो क्यामेराले चारै दिशाको फोटो खिच्छ । त्यसले खिचेका फोटो गुगल म्यापमा इन्टिग्रेट गरिन्छ । जसले स्ट्रिट भ्यु इमेजरीलाई सहयोग पुर्‍याउँछ । त्यसबाहेक कुनै पनि ठाउँको स्पष्ट भ्युका लागि ती फोटोको भूमिका महत्त्वपूर्ण हुन्छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८१ ९:२६