close

आज विश्वभरका कम्प्युटर नचल्नुको पछाडि जोडिएको ‘क्राउडस्ट्राइक’ के हो ?

टेकपाना टेकपाना

साउन ४, २०८१ १६:६

आज विश्वभरका कम्प्युटर नचल्नुको पछाडि जोडिएको ‘क्राउडस्ट्राइक’ के हो ?

काठमाडौं । शुक्रबार विश्वव्यापी रूपमा अनलाइन सेवाहरू अवरुद्ध भएका छन् । विभिन्न एयरलाइन्स, रेलवे, स्टक एक्सचेञ्ज, टेलिभिजन प्रसारण, टेलिकम,  बैङ्क लगायतका सेवा ठप्प छन् । 

प्रयोगकर्ताले माइक्रोसफ्ट ३६५ एपहरू प्रयोग गर्न पाएका छैनन् । जसले गर्दा अन्य थुप्रै काम पनि प्रभावित भएका छन् । 

यस पछाडिको कारण हो, क्राउडस्ट्राइक (crowdstrike) मा आएको समस्या । क्राउडस्ट्राइक विश्वप्रख्यात साइबर सुरक्षा कम्पनी हो । यस कम्पनीका अधिकांश ग्राहक माइक्रोसफ्टका विन्डोज प्रयोगकर्ता छन् । 

कम्पनीले वितरण गर्ने मुख्य प्रडक्टमध्येको एक हो, फाल्कन । यो यस्तो प्रडक्ट हो, जसले कम्प्युटरमा हुने आक्रमणको जानकारी, हाइपर एकुरेट डिटेक्सन र अटोमेटेड प्रोटेक्सन लगायतका सेवा दिन्छ । अर्थात् यो एउटा एन्टिभाइरस हो, जसले कम्प्युटरमा हुनसक्ने सम्भावित साइबर आक्रमणबाट जोगाउँछ ।

सन् २०११ मा स्थापना भएको क्राउडस्ट्राइकका अधिकांश ग्राहक इन्टरप्राइज कम्पनी, सरकारी निकाय, बैंक, अस्पताल लगायत छन् । यो एन्टिभाइरस व्यक्तिगत कम्प्युटरमा त्यति प्रयोग हुँदैन ।

कम्पनीले कुनै परीक्षण नै नगरी फाल्कनको नयाँ अपडेट विश्वभर उपलब्ध गराउँदा यो समस्या आएको विश्लेषकहरूले बताएका छन् । 

यसले गर्दा विन्डोज डिभाइस स्वतः रिस्टार्ट हुने र त्यसपछि ब्लु स्क्रिन देखिने गरेको बताइएको छ । 

माइक्रोसफ्टले भने यो समस्या समाधान गर्नका लागि काम भइरहेको जनाएको छ । कतिपय प्रयोगकर्ताको डिभाइसमा यो समस्या समाधान भइसकेको छ भने कतिपयमा समाधान हुन बाँकी छ । 

सीएनएनका अनुसार यो अस्ट्रेलिया र न्युजिल्यान्डमा अहिलेसम्म भएको सबैभन्दा ठूलो साइबर अवरोध हो । जसले गर्दा त्यहाँका सरकारी कामकाज, एयरपोर्ट र व्यवसाय प्रभावित भएका छन् ।

नेपालका पनि बैङ्किङ सेवा तथा टेलिकम समस्या यसबाट प्रभावित भएका छन् । फाल्कन एन्टिभाइरस प्रयोग गर्ने प्रायः सबै देशका प्रमुख अनलाइन सेवा अवरुद्ध भएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८१ १६:१३