काठमाडौं । एप्पलले भारतमा पहिलो पटक आईफोनका प्रिमियम मोडल उत्पादन गर्ने भएको छ । कम्पनीले आफ्नो आगामी आईफोन १६ का प्रो मोडेलहरू भारतमा उत्पादन गर्ने भएको हो ।
मनीकन्ट्रोलको रिपोर्ट अनुसार एप्पलले आफ्नो साझेदार कम्पनी फक्सकनसँग सहकार्य गरी भारतको तमिलनाडूमा रहेको प्लान्टमा आईफोन १६ प्रो र १६ प्रो म्याक्स उत्पादन गर्नेछ । यसअघि पनि एप्पलले भारतीय ग्राहकका लागि भारतमै आईफोन १५ तयार पारेको थियो । यसपटक भने घरेलुसँगै दक्षिण एसियाली बजारका लागि पनि भारतीय प्लान्टमा आईफोन १६ उत्पादन हुने बताइएको हो ।
त्यस्तै एप्पलले फक्सकनसँग मिलेर भारतमा नै आईप्याड पनि उत्पादन गर्न सक्ने चर्चा छ । यद्यपि यसबारे एप्पलले आधिकारिक रूपमा केही बताएको छैन ।
तर पछिल्लो समय एप्पलले भारतमा उत्पादन क्षमता बढाउँदै लानु, फक्सकन स्वयंले एप्पलको प्लान्ट निर्माण गर्नु र चिनियाँ बजारमाथिको आत्मनिर्भरता कम गर्ने एप्पलको चाल हुनुले यो कुरालाई पुष्टि गर्ने अनुमान गरिएको छ ।
सन् २०१७ मा पहिलो पुस्ताको आईफोन एसईसँगै एप्पलले भारतमा स्मार्टफोन उत्पादनको सुरुवात गरेको थियो। पछिल्ला वर्षहरूमा आईफोन १३ र आईफोन १४ मोडेलहरूको उत्पादन विस्तार भएको छ । हालै आईफोन १५ र आईफोन १५ प्लस पनि भारतमा उत्पादन गर्न थालिएको छ ।
भारतमै आईफोन १६ प्रो मोडेल उत्पादन गर्ने एप्पलको तयारीले नेपाली बजारमा आईफोनको मूल्यमा कस्तो असर पर्ला भन्ने चासो बढेको छ । तर विगतमा भारतीय प्लान्टमा उत्पादन भएकै कारण नेपालमा आईफोन सस्तिएको घटना भने छैन ।
यद्यपि भारतमा उत्पादित वस्तुहरू नेपालमा आयात गर्दा लाग्ने भन्सार करमा छुट हुन सक्ने सम्भावनाले आईफोनको मूल्य घट्ने विश्लेषण गर्न सकिन्छ । साथै भारतबाट नेपालमा सामान ढुवानी गर्दा लाग्ने खर्च कम हुने भएकाले पनि अन्तर्राष्ट्रिय मूल्यभन्दा सस्तो हुने आँकलन गर्न सकिन्छ ।
अर्कोतर्फ भारतमा आईफोन उत्पादन हुन थालेपछि नेपाली बजारमा अन्य ब्रान्डका फोनसँगको प्रतिस्पर्धा बढ्न सक्छ । यसले गर्दा एप्पलले आईफोनको मूल्य निर्धारण रणनीति परिवर्तन गर्न सक्छ ।
तर हालसम्म नेपालसहित दक्षिण एसियाली बजारमा सस्तो मूल्यमा आईफोन पठाउने योजनामा एप्पलले ठोस कदम चालेको देखिँदैन ।