काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा अवलोकनकर्ताको घुइँचो लागेको छ । १५ साउनदेखि सुरु भएको प्रदर्शनीमा तेस्रो दिन सकिँदा विद्यार्थी, कर्पोरेट क्षेत्र र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्शले जनाएको छ ।
प्रदर्शनीमा स्वचालित एआई गन, रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट मेनेजमेन्टका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट अवलोकनका लागि राखिएको छ । त्यस्तै गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि, एआई रोबोटिक पनि अवलोकन गर्न पाइन्छ ।
विद्यार्थीले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबट पनि प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा बैंकिङ, टुर गाइड, फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, रोबोट वार लगायतका ३० भन्दा बढी परियोजना देख्न सकिन्छ ।
यो प्रदर्शनी डिल्लीबजारस्थित सफ्टवेरिका कलेज परिसरमा आयोजित छ । प्रदर्शनीमा कलेजमा स्नातक तह दोस्रो र तेस्रो वर्षमा अध्ययनरत आईटी विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले बताए ।
प्रदर्शनी २० साउनसम्म सञ्चालन हुनेछ । प्रविधिमा रुचि राख्ने जोकोहीले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सक्नेछन् ।