काठमाडौं । कर्मचारी भर्ती गर्ने भन्दै डिजिटल वालेट खल्तीको नाममा ठगी धन्दा मौलाएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यममा विज्ञापन गरी कर्मचारी आवश्यक परेको भन्दै रकम मागेर ठगी भइरहेको पाइएको हो ।
विज्ञापन गरिएका पेज हेर्दा ती आधिकारिक लाग्दैनन् । विशेषगरी त्यसमा फरक-फरक कम्पनीको नाम जोडेर भर्ती खुलेको प्रचार गरिन्छ । यस विषयमा टेकपानासँग कुरा गर्दै खल्तीका सहसंस्थापक एवं निर्देशक अमित अग्रवालले जागिरका लागि आवेदन दिंदा ती प्लेटफर्मको विश्वसनीयता जाँच गर्न अनुरोध गरे ।
“सामाजिक सञ्जालमा विज्ञापन देखिने बित्तिकै त्यो आधिकारिक कम्पनीले नै गरेको हुन्छ भन्ने हुँदैन,” अग्रवालले टेकपानासँग भने, “त्यस्ता विज्ञापन आधिकारिक पेज वा ईमेलबाट आएका हुन् कि होइनन् बुझ्नुपर्छ ।”
कर्मचारी आवश्यकता परेको समयमा खल्तीले आफ्नै आधिकारिक प्लेटफर्ममा जानकारी दिने उनले सुनाए । त्यसका लागि सामाजिक सञ्जालमा भेरिफाइड मार्क भएको खल्तीको पेज फलो गर्न उनले अनुरोध गरे ।
“आधिकारिक च्यानल बाहेक अन्यबाट आएका विज्ञापन र कलहरू सबै फ्रड (ठगी) हुन्,” उनले भने ।
त्यस्तै आफू खल्तीको कर्मचारी भएको भन्दै समय समयमा ओटीपी मागी ठगी गरेका घटना समेत बाहिरिएका छन् । कुनै पनि वित्तीय संस्थाका कर्मचारीले ग्राहकलाई फोन गरेर ओटीपी नमाग्ने स्मरण गराउँदै अग्रवालले कोड वा अन्य विवरण मागे सोझै अस्वीकार गर्न सुझाए ।
लोभले नै ठगीको जालोमा पार्ने भन्दै कसैले पठाएका लिङ्कमा झट्ट क्लिक नगर्न उनको सुझाव छ । कसैले कुनै प्रलोभन देखाएको छ भने पहिले त्यसको विश्वसनीयता जाँच गर्न उनले अनुरोध गरे ।
खल्तीको नाममा राखिएको विज्ञापनमा दैनिक छ हजारदेखि १२ हजारसम्म रुपैयाँ तलब दिने लोभ देखाइएको छ । खासगरी कुनै अनुभव आवश्यक नपर्ने, मोबाइल फोनबाटै काम गर्न सकिने, जुनसुकै समयमा काम गर्न सकिने भनेकाले पनि सर्वसाधारण प्रलोभनमा पर्ने गरेको देखिन्छ ।