close

सूचना प्रविधि लगायतका क्षेत्रमा नवीनतम सोचसहित उद्यम गर्न चाहनेलाई फेलोशिप दिंदै नबिल बैंक

टेकपाना टेकपाना

साउन २८, २०८१ १३:५०

सूचना प्रविधि लगायतका क्षेत्रमा नवीनतम सोचसहित उद्यम गर्न चाहनेलाई फेलोशिप दिंदै नबिल बैंक

काठमाडौं । नबिल बैंकको नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो ब्याचको आवेदन खुला भएको छ । बैंकले सूचना प्रविधिका साथै कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण लगायतका कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरूका लागि निःशुल्क तालिमको लागि आवेदन खुलाएको हो ।

सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले १४ भदौ २०८१ सम्म आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिहरूले नबिल बैंकको वेबसाइट मा उपलब्ध फाराम भरेर वा क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने बैंकले जनाएको छ । यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुँदै आएको छ ।

नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रम ६ महिनासम्म चल्नेछ । आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन् । तालिमपछि उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार मेन्टर तथा विज्ञहरूको सहयोगमा व्यावहारिक चुनौतीहरूको समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्ने बैंकले जनाएको छ ।

हालसम्म नबिल एसएसई अन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरिसकेको र सो मध्ये ८० प्रतिशतले उद्यम स्थापना गरेको र ११ सय ८४ रोजगारी सिर्जना गरेको उल्लेख छ । यस कार्यक्रमका सहभागी फेलोहरूले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरूको दिगो उपयोग गरी रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र बलियो बनाउन समेत मद्‍दत गरेको बैंकले जनाएको छ ।

साथै उद्यमीहरू स्थानीय सरकार तथा विभिन्न संस्थाहरूबाट पुरस्कृत हुनुले पनि यस कार्यक्रमको महत्व अझै थप बढेको विश्वास नबिल बैंकले व्यक्त गरेको छ । 

 

पछिल्लो अध्यावधिक: साउन २८, २०८१ १३:५७