close

नेताको मृत्युको कामना सहित फेसबुक लाइभ गर्ने ज्योतिषी विरुद्ध साइबर अपराधको मुद्दा दर्ता

टेकपाना टेकपाना

साउन ३०, २०८१ १६:३

नेताको मृत्युको कामना सहित फेसबुक लाइभ गर्ने ज्योतिषी विरुद्ध साइबर अपराधको मुद्दा दर्ता

काठमाडौं । ठूला नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरी लाइभ देखाउने पुष्कर खतिवडा विरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएको छ । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै मङ्गलबार जिल्ला अदालत काठमाडौंमा खतिवडा विरुद्ध मुद्दा  दायर भएको हो । 

खतिवडाले आफूलाई धर्मगुरु एवं ज्योतिषी भनेर चिनाउने गरेका छन् ।

नेपाल सरकार वादी भई दायर भएको अभियोगपत्रमा खतिवडाले सामाजिक सञ्जालमार्फत अमर्यादित क्रियाकलाप गरेको भन्दै विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न माग राखिएको छ ।

१४ साउनमा ठूला नेताहरूको मृत्युको कामना गर्दै खतिवडाले अनुष्ठान गरिरहेको सूचनापछि पूजा भइरहेको ठाउँबाटै प्रहरीले खतिवडालाई नियन्त्रणमा लिएको थियो । त्यस क्रममा उनले नेताहरूको फोटो जलाइसकेको र पूजा सामग्री राखी यज्ञ गरिरहेको प्रहरीले फेला पारेको थियो । ​

अभियोगपत्रमा भनिएको छ, “प्रतिवादी पुष्कर खतिवडाले भीभीआईपी व्यक्तिको फोटो जलाई, मृत्युको कामना गरी यज्ञ गरिरहेको लाइभ भिडिओ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरी नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री वा घृणा वा द्वेष फैलाउने अमर्यादित क्रियाकलाप गरी सनातन हिन्दु धर्म संस्कृतिबाट परिकल्पना नै नगरिएको कार्य गरी धार्मिक भावना, धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने कार्य गरेको हुँदा निज प्रतिवादी पुष्कर खतिवडाले गरेको उक्त कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आयो ।”

 

पछिल्लो अध्यावधिक: साउन ३०, २०८१ १६:३६