close

तिब्बत नाकातर्फ अत्यन्त विकट स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा विस्तार

टेकपाना टेकपाना

साउन ३२, २०८१ १४:२५

तिब्बत नाकातर्फ अत्यन्त विकट स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रूपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा मोबाइल सेवा विस्तार गरेको छ ।

स्वदेशी तथा विदेशी पर्यटकहरूको चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रहरूमा ग्राहकहरूको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्य समेत सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विहि, प्रोक, नामरुंग, श्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रूईला नाकाको अन्तिम गाउँ साम्दोसम्म कम्पनीले टुजी सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै फोरजी सेवा समेत सञ्चालन गरेको छ ।

ल्हो, सामागाउँ, तथा गमलाडाँडामा रहेका साइटहरूमा भीस्याट प्रविधिलाई माइक्रोवेभ ट्रान्समिसन लिङ्कले प्रतिस्थापन गरी टुजी सेवाको गुणस्तर सुधार एवं क्षमता अभिवृद्धि तथा फोरजी सेवा सञ्चालन गर्नुका साथै श्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरूमा सेवा सञ्चालन गरेसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरू तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने तथा पर्यटकहरूसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्धार कार्यमा समेत सहजता हुने कम्पनीको विश्वास रहेको छ ।

हेर्नुहोस् तस्वीरहरू

पछिल्लो अध्यावधिक: साउन ३२, २०८१ १६:३९