बुटवल । स्थानीय तह, प्रदेश र संघीय सरकारबीच एकीकृत तथ्यांक प्रणाली भएमात्र कार्यसम्पादन सहज हुने सरोकारवालाले बताएका छन् । द एशिया फाउण्डेसनको आयोजनामा बुटवलमा आयोजना गरिएको लुम्बिनी प्रदेशस्तरीय सिकाइ कार्यशाला, प्रादेशिक सिकाइ आदानप्रदान कार्यक्रममा बोल्दै अधिकांश सहभागीहरूले एकीकृत तथ्यांक प्रणाली आवश्यक भएको राय राखेका हुन् ।
दोस्रो दिनको प्यानल डिस्कसन कार्यक्रममा बोल्दै नवलपरासीको सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले पछिल्लो समयमा स्थानीय तहले तथ्यांकको विषयमा ठूलो समस्या झेल्दै आएको बताइन् । उनले वडा स्तरमा पालिकाले हेल्प डेस्क राखेर सेवा प्रवाह गरे पनि सफ्टवेयर नचल्ने, सर्भर डाउन हुने लगायतका समस्याको कारण बेला बेलामा कार्यसम्पादनमा समस्या भएको बताइन् ।
उनले भनिन्, “हामी सेवा प्रवाह सहजीकरण गर्दै आएका छौं, तर कहिलेकाहीं सूचना प्रविधि नै धोका दिन्छ, यस अवस्थामा समस्या आउने गरेको छ ।” सरकारले दरबन्दी नै सृजना गरेर प्रत्येक वडा पालिकामा आईटी क्षेत्रको डेटा क्षेत्रमा काम गर्ने दरबन्दी आवश्यक रहेकोमा उनले जोड दिइन् ।
खुला सत्रमा सहभागी हुँदै दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकराम खड्काले तथ्यांक प्रणाली व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले पालिकाले योजना निर्माण गर्दा, आवधिक योजना बनाउँदा समेत तथ्यांकको प्रयोगबाट मात्रै काम सुरु हुने भए पनि त्यसको प्राप्त मात्रामा उपलब्ध हुन नसक्दा समस्या आएको बताए ।
उनले भने, “तथ्यांकको व्यवस्थित उपयोगका लागि अन्तरपालिका, अन्तरप्रदेश र अन्तरसरकार एकीकृत समन्वय आवश्यक छ ।”
प्रदेश योजना आयोग लुम्बिनीका पूर्व सदस्य तथा अर्थशास्त्री सुदन ओलीले संघीय सरकारले प्रदेशलाई छुट्टै संरचनाको रूपमा हेरेको भए पनि हालसम्म प्रदेशको एकीकृत सूचना प्रणाली र तथ्यांक प्रणाली विकास हुन नसकेको बताएका थिए । सरकारले बनाउने भनेको एकीकृत डेटा सेन्टर आवश्यक रहेको भन्दै यसलाई अविलम्ब सुरु गर्नुपर्ने धारणा राखेका थिए ।
राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता) डा. हेमराज रेग्मीले कार्यालयले पछिल्लो समयमा संघ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयको काम गर्दै आएको बताएका थिए । जनशक्ति अभावको कारण कार्यसम्पादनमा केही समस्या आएपनि केही पालिकामा प्रतिनिधिमूलक प्रोफाइल तयार पारेर सहयोग गर्दै आएको बताए । उनले एकीकृत तथ्यांक प्रणाली विकासमा आफ्नो कार्यालयले सहकार्य गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसालले योजना निर्माणका लागि तथ्यांकको प्रयोग वडा स्तरबाट सुरु हुने भएकाले कतिपय पालिकाले वडा स्तरबाट नै वास्तविक तथ्यांक उपलब्ध नगराउँदा समस्या सिर्जना हुने गरेको बताएका थिए । उनले भने, “तथ्यांकको विषयमा धेरै काम गर्न अझै बाँकी छ, यसमा सबै तहको सहकार्य गर्न आवश्यक छ, एकल प्रयासबाट एकीकृत तथ्यांकको व्यवस्थापन गर्न कठिन हुन्छ ।”
शुक्रबारबाट सुरु भएको कार्यशाला शनिबार समापन भएको छ । कार्यशालामा केन्द्रीय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी गोकर्णमणि ढुंगानाले सम्बोधन गर्दै तथ्यांकको सही उत्पादन, प्रयोग र स्तरीकरण आवश्यक रहेको बताएका थिए । स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू सहित राष्ट्रिय योजना आयोग, राष्ट्रिय तथ्यांक कार्यालयका विभिन्न पदमा रहेका व्यक्तिहरूको सहभागिता रहेको थियो ।