काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ हुने भएको छ । आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने उक्त क्षमता विकास कार्यशालामा सहभागी हुन इच्छुकका लागि अनलाइन आवेदन खुलेको छ ।
एपिगा नेपाल २०२४ ले स्नातक र स्नातकोत्तर विद्यार्थीहरूका साथै युवा पेशेवरहरूलाई इन्टरनेट गभर्नेन्स, आईक्यान नीति तथा बहु-साझेदारी मोडेलमा गहन अध्ययन गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।
आईक्यान र कोरिया इन्टरनेट एण्ड सेक्युरिटी एजेन्सी (KISA) द्वारा सञ्चालित बृहत् एपिगा कार्यक्रमको स्थानीय संस्करणको रूपमा नेपालमा यो कार्यशाला हुन लागेको हो, जसमार्फत भविष्यका डिजिटल नीतिका अभियन्ताहरूलाई प्रशिक्षित गर्ने लक्ष्य राखिएको छ ।
कार्यशालामा सेमिनार, राउन्ड टेबल डिस्कसन, सिमुलेसन गेमहरू, मक आईक्यान कन्फ्रेन्स लगायतका विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन हुनेछन् । यसले सहभागीहरूलाई इन्टरनेट गभर्नेन्सका मुद्दाहरूको व्यवहारिक अनुभव र बृहत् जानकारी प्रदान गर्ने आयोजक क्यान महासंघका प्रबन्धक उदीप बरालले बताए ।
बरालले इन्टरनेट गभर्नेन्सको भविष्यलाई आकार दिने प्रमुख खेलाडी बन्ने यस अवसरलाई सदुपयोग गरी डिजिटल विश्वमा महत्वपूर्ण प्रभाव पार्न युवा तथा विद्यार्थीलाई आह्वान गरे ।
कसले आवेदन दिन सक्छन् ?
यो कार्यशालामा १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक र स्नातकोत्तर विद्यार्थीहरूका साथै इन्टरनेट सेवा प्रदायक, बैंक तथा कर्पोरेट कार्यालयहरूका युवा पेशेवरहरूले आवेदन दिन सक्नेछन् ।
इन्टरनेट गभर्नेन्स तथा भविष्यको इन्टरनेटमा प्रभाव पार्न इच्छुक व्यक्ति यस कार्यशालामा सहभागी हुन सक्ने एपिगा नेपाल २०२४ का टिम लिड विवेक सिलवालले बताए । इच्छुक व्यक्तिले २० अगस्ट २०२४ (भदौ ४) सम्म क्यान महासंघको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्छन् ।
अन्तरक्रियात्मक सिकाइदेखि एपिगा २०२५ मा सहभागी हुने अवसर
एपिगा नेपाल २०२४ का सहभागीहरूले स्थानीय, क्षेत्रीय तथा विश्वव्यापी संगठनका विशेषज्ञ वक्तासँग इन्टरनेट गभर्नेन्स सम्बन्धी विविध विषयमा अन्तरक्रियात्मक सिकाइको अवसर पाउनेछन् । त्यस्तै कार्यक्रममार्फत इन्टरनेट गभर्नेन्स समुदायमा क्रियाशील व्यक्तित्वहरूसँग नजिकिने अवसर प्राप्त हुनेछ ।
यसबाहेक कार्यक्रमका शीर्ष दुई सहभागीले कोरियामा आयोजना हुने एपिगा २०२५ मा पूर्ण प्रायोजनसहित सहभागी हुने अवसर पाउनेछन् ।
यस कार्यक्रमका लागि सम्पर्क व्यक्तिका रूपमा क्यान महासंघका प्रबन्धक तथा संयोजक उदीप बराल तथा एपिगा नेपाल टिम लिडका रुपमा विवेक सिलवाल रहेका छन् ।