काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सङ्घीय अस्पतालहरूका बिग्रिएका उपकरण मर्मत गर्ने जिम्मा पाएको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणहरू मर्मत गर्ने सम्बन्धमा समझदारी भएको हो ।
मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका तर्फबाट अध्यक्ष महावीर पुनले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघ अन्तर्गतका १७ अस्पतालमा भएका स्वास्थ्य उपकरणहरू मर्मत गरिने जानकारी दिए । उनका अनुसार मर्मतका लागि अस्पतालले खर्च बेहोर्न नसक्ने अवस्थामा मन्त्रालयले जिम्मा लिने छ ।