काठमाडौं । काठमाडौं विश्वविद्यालयले स्नातक तहमा हेल्थ इन्फरम्याटिक्स कार्यक्रममा भर्ना खुलाएको छ । मंगलवार एक सूचना निकाल्दै विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायले यो कार्यक्रममा भर्ना खुलाएको हो ।
चार वर्षे (आठ सेमेस्टर) शैक्षिक कार्यक्रममा इन्टर्नशिप, क्यापस्टोन प्रोजेक्ट र सेमिनारहरू सहित कुल १२७ क्रेडिट आवर राखिएको छ । यसमा विद्यार्थीहरूले अन्तरक्रियात्मक प्रयोगशाला, डेटाबेस प्रयोगशाला, नेटवर्क ल्याब जस्ता धेरै प्रयोगशाला वातावरणमार्फत व्यावहारिक ज्ञान प्राप्त गर्ने विश्वविद्यालयले जनाएको छ ।
यो कार्यक्रम विश्वविद्यालय अन्तर्गतका तीन कलेजमा एकसाथ सञ्चालन हुनेछ । जसमा कलेज अफ मेडिकल साइन्सेज (सीओएमएस) भरतपुर, मणिपाल कलेज अफ मेडिकल साइन्सेज (एमसीओएमएस) पोखरा र चौककोट क्याम्पस रहेका छन् ।
यी प्रत्येक कलेजमा विद्यार्थी सिट ३०/३० रहेको छ । जसमध्ये कुल २० प्रतिशत सिटमा विश्वविद्यालयले छात्रवृत्ति दिनेछ ।
यस शैक्षिक कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीले +२ विज्ञान वा सो सरहको ५० प्रतिशत अंक वा समग्रमा सीजीपीए २.० ल्याएको हुनु पर्नेछ ।
त्यस्तै, इन्जिनियरिङ, विज्ञान, प्रविधि, स्वास्थ्य विज्ञान (नर्सिङ, स्वास्थ्य सहायक, फार्मेसी र ल्याब टेक्नोलोजी) मा तीन वर्षे डिप्लोमा गरेका वा ५० प्रतिशत अंक भएका विद्यार्थीहरूले पनि आवेदन दिन सक्नेछन् ।
यस शैक्षिक कार्यक्रममा भर्ना आवेदन दिन यहाँ र पाठ्यक्रमबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।