काठमाडौं । हेर्ने कथाले ‘हराएका वर्षहरू’ शीर्षकमा युट्युबमा राखेको वृत्तचित्र ट्रेन्डिङ १ मा परेको छ । काठमाडौंदेखि हराएर वर्षौंदेखि परिवारबाट टाढिएर बस्न बाध्य प्रकाश (काले तामाङ)को परिवारसँगको पुनर्मिलन देखाइएको उक्त भिडिओ नेपालमा ट्रेन्डिङ १ मा परेको हो ।
भ्युस्ट्याटका अनुसार ‘हराएका वर्षहरू’ नेपालमा तीन दिनमै सबैभन्दा बढी भ्युज पाउने हेर्ने कथाको भिडिओ बनेको छ । साथै हेर्ने कथाको कुनै पनि भिडिओले कम समयमा बढी भ्युज पाउनेमा ‘हराएका वर्षहरू’ बनेको छ ।
अविश्वसनीय लाग्ने घटनाक्रम देखाइएको १ घण्टा १० मिनेट लामो भिडिओमा यस समाचार तयार पार्दासम्म करिब ३८ लाख भ्युज, ३६ हजार बढी कमेन्ट र तीन लाख बढी लाइक आएको छ ।
युट्युब कमेन्ट लगायत सामाजिक सञ्जालका विभिन्न माध्यममा अधिकांशले हेर्ने कथाको प्रयासलाई प्रशंसा गरिरहेका छन् । धेरैले यस भिडिओलाई हेर्ने कथाको ‘मास्टरपिस’का रूपमा व्याख्या गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत भिडिओको प्रशंसा गरेका छन् । भिडिओ हेरेपछि उनले प्रकाशलाई भेट्न चाहेको बताउँदै नागरिकता बनाउन सहयोग गर्ने जनाएका छन् ।
सामाजिक सञ्जालमा कतिपयले प्रकाश पुन: गोठालो गर्न छेकम्पार गएपछि हेर्ने कथा टिममाथि प्रश्न गरेका छन् । उनीहरूले सामाजिक सञ्जालमा आँशुको कथा देखाएको, प्रकाशलाई आर्थिक सहयोग नगर्दा फेरि परिवारबाट टाढिनु परेको, महोत्सवहरूमा देखाएर ढिला गरी युट्युबमा राखेको लगायतका टिप्पणी गरेका छन् ।