काठमाडौं । वेबसाइट ह्याक हुँदा राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइटबाट पाँच महिनाको तथ्याङ्क गायब भएको पाइएको छ । अनलाइनमार्फत सम्पत्ति विवरण दर्ता गर्ने केन्द्रको प्रणाली ह्याक हुँदा केही तथ्याङ्क गुमेको हो ।
एक महिनाअघि केन्द्रको सम्पत्ति विवरण तथा अनुगमन शाखाको वेबसाइट ह्याक भएको थियो । त्यसपछि ह्याकरले वेबसाइटमार्फत अनलाइन ग्याम्बलिङ/बेटिङ साइटको प्रचार गरेका थिए । त्यसमा भएका टेक्स्ट धेरैजसो इन्डोनेसियाली भाषामा लेखिएको थियो ।
केन्द्रले आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति विवरण अनलाइनमार्फत आफूलाई जानकारी दिन १ साउनमा नै सार्वजनिक सूचना निकालेको थियो । जसको अन्तिम मिति यही २८ भदौसम्म रहेको छ ।
वेबसाइटमा प्रविष्ट गरिएका संवेदनशील सूचना हराउँदा एउटै काम दोहोर्याएर गर्नु परेको केन्द्रका सूचना अधिकारी हरि प्रसाद शर्माले बताए । “हामीले गत आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गरिसकेका छौं । त्यसमा समस्या भएन । तर चालु आर्थिक वर्षको तथ्याङ्क रिकभर गर्न सकिएन,” टेकपानासँग उनले भने, “क-कसले कति भरेका थिए, यकिन भएन । अब २८ गतेसम्म सम्बन्धित कर्मचारीले बुझाउने समय छ । हामीले उहाँहरूलाई पुन: विवरण प्रविष्ट गर्न अनुरोध गरेका छौं ।”
त्यसो त अहिले पनि केन्द्रको उक्त वेबसाइट खोल्दा ‘नट सिक्योर’ भन्ने सन्देश देखिन्छ । केन्द्रले आफ्नो वेबसाइटमा सिक्योर सकेट्स लेयर (एसएसएल) सर्टिफिकेट नराखेकाले त्यस्तो सन्देश देखिएको एक साइबर सुरक्षा जानकारले बताए ।
उनका अनुसार ‘नट सिक्योर’ देखाइरहेको वेबसाइट निकै जोखिम हुन्छन् । यस्ता वेबसाइटले इन्पुट गरिएको डेटालाई इन्क्रिप्ट नगर्ने हुँदा अन्य तेस्रो पक्षले सजिलै डेटामा पहुँच पाउन सक्ने उनको भनाइ छ ।
केन्द्रका सूचना अधिकारी शर्माले भने वेबसाइट चलिरहेको र यस समस्यालाई पनि समाधान गर्न काम भइरहेको कुरा दोहोर्याए । अहिले केन्द्रले वैशाख, २०८१ सालदेखि प्रविष्ट भएका तथ्याङ्कहरू प्रणालीबाट हराएकाले पुन: प्रविष्ट गर्न अनुरोध गरेको छ ।
त्यस्तै २०७६ सालदेखि युजरनेम र पासवर्ड लिएका मन्त्रालय र निकायहरूको पुन: युजरनेम तथा पासवर्ड नयाँ बनाउनु पर्ने भएकाले कार्यालय प्रमुखको हस्ताक्षर भएको पत्र स्क्यान गरी मेल पठाउन पनि आग्रह गरेको छ ।