काठमाडौं । सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम २० दिनयता रोकिएको छ । मेसिनमा समस्या आएपछि नयाँ कार्ड छपाइ कार्य ठप्प भएको हो ।
यातायात व्यवस्था विभागले जर्मनीबाट छ लाख थान कार्ड ल्याएर गत असारदेखि तीन सिफ्टमा छपाइ थालनी गरेको थियो । तर, प्रिन्टरको पर्सनलाइजेसन सिस्टममा समस्या आउँदा २० दिनयता लाइसेन्स छपाइ रोकिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए ।
“सिस्टममा पर्सनलाइजेसनका लागि मद्रास सेक्युरिटी प्रिन्टर्सले एउटा समय राखिदिएको हुन्छ । समय सकिएपछि उता कम्पनीबाट यो मेसिनबाट अर्डर आउनु पर्ने हुन्छ । त्यही नआएकाले समस्या देखियो,” उनले भने । उनका अनुसार तीन लाख प्रति छपाइ भएपछि यस्तो समस्या आएको हो ।
गत जेठमा पनि पर्सनलाइजेसन सिस्टममा समस्या आउँदा केही समय छपाइ रोकिएको थियो ।
विभागले जर्मनीबाट कार्ड र भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सबाट छपाइ मेसिन ल्याएको हो । मेसिनले कार्ड रिड (चिन्न) गर्न नसक्ने समस्या पटकपटक दोहोरिएको पनेरुले बताए ।
नियमित छपाइ बन्द भए पनि विभागले वैदेशिक रोजगारी वा अध्ययनका लागि जाने नागरिकका लागि अत्यावश्यक लाइसेन्स छापिरहेको छ । नयाँ कार्ड मसिनले चिन्न नसकेपछि पुरानो मेसिनबाट अत्यावश्यक लाइसेन्सको छपाइ भइरहेको प्रवक्ता पनेरुले बताए ।
उनका अनुसार पुरानो मेसिनबाट हाल अत्यावश्यक लाइसेन्स दैनिक तीन सयदेखि पाँच सय प्रति छापिने गरेको छ । लाइसेन्स नवीकरण, हराएका र नयाँ गरी हाल दैनिक चार हजार कार्डको माग छ । प्रिन्ट गर्ने मेसिनमै समस्या आएपछि सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् ।
यसो त सरकारले राष्ट्रिय परिचयपत्रमै स्मार्ट लाइसेन्स आवद्ध गर्ने योजना ल्याएको छ । यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समन्वय भइरहेको छ । राष्ट्रिय परिचयपत्रमा लाइसेन्सको विवरण समेटिने भएपछि लाइसेन्स बोकिरहनु नपर्ने बताइएको छ । यसपछि लाइसेन्स छपाइको चाप पनि घट्ने विभागकाे अनुमान छ ।