काठमाडौं । पछिल्लो एक वर्षमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अत्यधिक चर्चा भइरहेको बेला च्याटजीपीटीले नयाँ कोशेढुंगा पार गरेको छ । सबैभन्दा परिचित जेनेरेटिभ एआई च्याटबटका रूपमा च्याटजीपीटीले हालै साप्ताहिक २० करोड सक्रिय प्रयोगकर्ता पाएको छ ।
सन् २०२३ मा कम्पनीका साप्ताहिक सक्रिय प्रयोगकर्ता १० करोड थिए । एक वर्षमै कम्पनीले सक्रिय प्रयोगकर्ताको संख्या दोब्बर बनाउन सफल भएको छ ।
ओपनएआईले आफ्ना उत्पादनहरू विश्वका ९२ प्रतिशत फर्च्युन ५०० कम्पनीहरूले प्रयोग गरिरहेको पनि जनाएको छ । साथै, गत महिना जीपीटी-४ओ मिनी सार्वजनिक भएपछि यसको स्वचालित एपीआईको प्रयोगसमेत दोब्बर भएको कम्पनीको भनाइ छ ।
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले यसबारे एक विज्ञप्तिमा भनेका छन्, “हाम्रो टुललाई अहिले मानिसहरूले आफ्नो दैनिक जीवनको अभिन्न अंगका रूपमा प्रयोग गरिरहेका छन् । स्वास्थ्य सेवा र शिक्षाजस्ता क्षेत्रमा यो टुलले सामान्य कार्यहरूमा सहयोग पुर्याउनेदेखि लिएर जटिल समस्याहरू समाधान गर्न तथा सिर्जनात्मकता प्रस्तुत गर्न प्रभाव देखाएको छ ।”