close

ओप्पोको एआई स्मार्टफोन ‘रेनो १२’ नेपाली बजारमा, मूल्य ६६ हजार रुपैयाँ

टेकपाना टेकपाना

भदौ १६, २०८१ १६:४०

ओप्पोको एआई स्मार्टफोन ‘रेनो १२’ नेपाली बजारमा, मूल्य ६६ हजार रुपैयाँ

काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेनएआई)को सुविधा सहित रेनो १२ फोन सार्वजनिक गरेको हो । 

यसलाई एआई स्मार्टफोनका रूपमा अघि सारिएको छ । स्मार्टफोनमा एआईबाटै दृश्य पहिचान गर्नेदेखि रातको समयमा आवश्यक पर्ने विभिन्न फोटोग्राफी मोड दिइएको छ । त्यस्तै स्मुथ मल्टिटास्किङ र ब्याट्रीको कुशलता बढाउन एआई प्रविधि समावेश गरिएको छ ।

गेमिङका लागि फ्रेम रेटको एड्जस्टमेन्ट र हिट नियन्त्रण गर्ने काम पनि एआईले नै गर्छ । साथै, यसमा एआई आधारित बायोमेट्रिक अथेन्टिकेसन जस्ता सुरक्षाका उपाय छन्, जसले प्रयोगकर्तालाई अधिक सहज र व्यक्तिगत अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

फोनमा १२० रिफ्रेस रेटसहित ६.७ इन्चको एमोलेड डिस्प्ले रहेको छ । डिस्प्लेको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास सेभेन आई दिइएको छ । 

एन्ड्रोइड १४ मा आधारित कलर ओएस १४.१ ओएसबाट चल्ने फोनमा मिडियाटेक डाइमेन्सिटी ७३०० इनर्जी चिपसेट छ । सीपीयू भने ओक्टाकोर र जीपीयू मालू-जी६१५ एमसी टु दिइएको छ । 

फोनमा १२ जीबी र्‍याम तथा ५१२ जीबी इन्टर्नल स्टोरेज छ भने माइक्रो एसडी कार्ड प्रयोग गरी थप स्टोरेज बढाउन सकिन्छ ।

क्यामेराको कुरा गर्नुपर्दा ५० मेगापिक्सेल मुख्य सेन्सर, ८ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेल म्याक्रो सेन्सर रहेको छ । सेल्फी पारखीका लागि ३२ मेगापिक्सेलको क्यामेरा छ । क्यामेराले ३० एफपीएसको फोरके भिडिओ खिच्न सक्छ । १०८० पिक्सेलमा भने ३०, ६०, १२० र ४८० एफपीएसमा भिडिओ खिच्न सकिन्छ ।

यसबाट ९६० एफपीएसको ७२० पिक्सेल भिडिओ पनि खिच्न सकिन्छ । सेल्फी क्यामेराले पनि ३० एफपीएसको फोरके भिडिओ खिच्न सक्छ । भिडिओलाई स्तरीय र स्टेबल बनाउन जाइरो ईआईएस, ओआईएस र एचडीआर जस्ता फिचर समावेश गरिएको छ । 

फोनमा अन्डर-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, एक्सेलेरोमिटर, जाइरो, प्रोक्सिमिटी, कम्पास, बिकनलिङ्क लगायतका सेन्सरहरू छन् । कम्पनीका अनुसार बिकनलिङ्क कल भाया ब्लुटुथको सहायताले २०० मिटरसम्मको दूरीमा सञ्चार गर्न सकिन्छ । 

यसमा ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसलाई चार्ज गर्न ८० वाटको चार्जर उपलब्ध गराइएको छ । कम्पनीका अनुसार यस चार्जरले फोनको ब्याट्री १८ मिनेटमै ४७ प्रतिशत र ४६ मिनेटमा फूल चार्ज हुन्छ । 

यो फोनको मूल्य ६५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १८, २०८१ १५:२३