close

आउँदो सोमवार आईफोन १६ सिरिज सार्वजनिक हुँदै, केके होलान् फिचर ?

टेकपाना टेकपाना

भदौ २०, २०८१ १७:४५

आउँदो सोमवार आईफोन १६ सिरिज सार्वजनिक हुँदै, केके होलान् फिचर ?

काठमाडौं । एप्पलले आगामी २४ भदौ (९ सेप्टेम्बर)मा आईफोन १६ सिरिज सार्वजनिक गर्दैछ । ‘इट्स ग्लोटाइम’ शीर्षकमा नेपाली समयअनुसार राति १०:४५ देखि​ हुने एप्पल इभेन्टमार्फत कम्पनीले आईफोन १६ सँगै ​एप्पल वाच, एयरपड्स लगायतका डिभाइस सार्वजनिक गर्ने तयारी गरेको हो ।

आईफोन १६ मा महत्त्वपूर्ण सफ्टवेयर सुधार र नयाँ एआई सुविधाहरू समावेश हुने अनुमान छ । यस अन्तर्गत फोनमा च्याटजीपीटी इन्टिग्रेसनदेखि एआईमैत्री सिरीसम्मका सुविधा हुने बताइएको छ ।

यस संस्करणका आईफोन मोडेलहरू नयाँ स्क्रिन प्रविधि, ठूलो साइजको डिस्प्ले, शक्तिशाली चिपसेट र सुधारिएको क्यामेरा प्रणाली सहित आउने खबर बाहिरिएका छन् । साथै ब्याट्री क्षमता र पर्फमेन्समा पनि महत्त्वपूर्ण सुधार हुने बताइएको छ ।

आईफोन १६ मोडेलहरूमा शक्तिशाली ए१८ चिप समावेश हुनेछ, जसले एप्पल इन्टेलिजेन्ससँग काम गर्नेछ । सबै आईफोन १६ मोडेलहरूमा नयाँ आईओएस १८ अपडेटको सपोर्ट रहनेछ । एप्पलले आईफोन १६ प्रो र प्रो म्याक्सको डिस्प्ले केही ठूलो बनाउने छ । त्यस्तै चार ओटै मोडेलहरूमा फोटो खिच्नका लागि नयाँ क्याप्चर बटन समावेश हुनेछ ।

आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा फाइभ एक्स टेलिफोटो लेन्स हुने चर्चा छ । यसका अतिरिक्त क्यामेरामा नयाँ ए‍न्टी-रिफ्लेक्टिभ प्रविधि समावेश हुने सम्भावना छ ।

स्ट्यान्डर्ड आईफोन १६ मोडेलहरूमा पहिलो पटक एक्सन बटन आउनेछ भने आईफोन १६ प्रो मोडेलमा सुधारिएको ४८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा हुने अनुमान छ ।

एप्पल वाच मोडेलहरूको हकमा भने एप्पल वाच सिरिज १०, नयाँ एप्पल वाच एसई र रिफ्रेस गरिएको एप्पल वाच अल्ट्रा सार्वजनिक हुने अपेक्षा गरिएको छ । स्ट्यान्डर्ड एप्पल वाचमा एप्पलले पातलो डिजाइन र ठूलो डिस्प्ले समावेश गर्ने चर्चा छ ।

एप्पलले एयरपड्स फोर पनि ल्याउने तयारी गरेको छ । यसअन्तर्गत पहिलो पटक दुई मोडेलहरू सार्वजनिक हुनेछन्, जसमा लोअर-एन्ड मोडेल अहिलेको एयरपड्ससँग मिल्दोजुल्दो हुनेछ, भने हाइ-एन्ड मोडेलमा एक्टिभ नोइज क्यान्सलेसनको सुविधा रहनेछ ।

पछिल्लो अध्यावधिक: भदौ २०, २०८१ १८:४८