काठमाडौं । ‘कोड फर चेन्ज’ को आयोजनामा राष्ट्रिय स्तरको ह्याकाथन ‘कोडफेस्ट २०२४’ हुने भएको छ । प्रविधि क्षेत्रका विधार्थीलाई सम्मिलित गराएर दिगो विकासका सात लक्ष्यमा आफ्नो विवेक, रचना र उनीहरूले शैक्षिक संस्थाबाट सिकेका ज्ञानलाई वास्तविक समस्याहरूको समाधानमा प्रयोग गर्न जोड दिने उद्देश्यसहित यो ह्याकाथन हुन लागेको हो ।
यसअन्तर्गत प्रादेशिक र राष्ट्रिय स्तरमा गर्दै विभिन्न चरणहरूमा प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार प्रदेश स्तरमा असोज २ देखि १३ गतेसम्म कोडफेस्ट हुनेछ भने प्रदेशबाट छानिएका २१ उत्कृष्ट टोलीहरूबीच काठमाडौंमा कात्तिक २९, ३० र मंसिर १ गतेसम्म प्रतिस्पर्धा हुनेछ ।
कोडफेस्टमा सहभागी हुने विद्यार्थीहरूको समूहले दिगो विकासका सात ओटा लक्ष्यहरूमा आधारित प्रविधिक समस्याहरूको समाधान विकास गर्नेछन् । यसअन्तर्गत गुड हेल्थ एन्ड वेल बिइङ, क्वालिटी एजुकेसन, जेन्डर इक्वालिटी, इन्डस्ट्री इनोभेसन एन्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटी, क्लाइमेट एक्सन र पिस जस्टिस एण्ड स्ट्रोङ्ग इन्स्टिच्युसनका क्षेत्रका चुनौतीहरुको समाधान निकाल्न विद्यार्थीलाई प्रोत्साहित गरिने युथ इन सोसल चेन्जले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा आउने टिमले क्रमशः दुई लाख र एक लाख रुपैयाँ जित्नेछन् । साथै, पिपल्स च्वाइस अवार्ड अन्तर्गत ३० हजार रुपैयाँ नगद पुरस्कारका साथै विभिन्न ग्याजेट्स, स्मार्टफोन, र अन्य गिफ्ट ह्याम्पर्स पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
ह्याकाथननमा विद्यार्थीहरूबाट प्रस्तुत हुने उत्कृष्ट व्यवहारिक आइडियाहरूलाई इनक्युबेसन वा लगानीको अवसर पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धामा सहभागी हुन आगामी सेप्टेम्बर १७ सम्म यो लिङ्कमा गई टिम दर्ता गर्नुपर्ने छ ।