काठमाडौं । सरकारी कार्यालयहरूमा मात्रै नभई अब देशभरका अदालतमा पनि अनलाइन शेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ ।
एक सूचना जारी गर्दै सर्वोच्च अदालतले उच्च अदालत, जिल्ला अदालत लगायत सम्पूर्ण अदालत तथा निकायमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
यसअघि सरकारले संघ, प्रदेश र स्थानीय तह मातहतका सबै सरकारी कार्यालयहरूमा टीएमएस चलाउन रोक लगाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ भदौमा सरकारी कार्यालयहरूमा टीएमएस नचलाउने सिफारिस गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २३ भदौमा टीएमएस नचल्ने बनाउन निर्देशन दिएको थियो । कार्यालय समयमा टीएमएस चलाएको/नचलाएको सम्बन्धमा सूचना प्रविधि प्रयोग गरी चेकजाँच गर्न समेत निर्देशन दिइएको छ ।