काठमाडौं । एप्पलले ल्याएका नयाँ-नयाँ फिचर प्राय: विवादित हुन्छन् । विवादित भए पनि पछि अरू ब्रान्डले ती फिचर कपी गरिरहेका हुन्छन् । नच (डिस्प्लेमा राखिने सेल्फी क्यामेरा)को सट्टा डाइनामिक आइल्यान्ड ल्याउनेदेखि बक्सबाटै चार्जर हटाउने एप्पलको निर्णय स्मार्टफोन उद्योगमा एउटा प्रवृत्ति नै बन्यो ।
हुन त ओप्पो पहिलो ब्रान्ड हो, जसले स्मार्टफोनबाट हेडफोन ज्याक हटाएको थियो । तर, एप्पलले हेडफोन ज्याक हटाएपछि यसले बढी चर्चा पायो । र, पछि अरू ब्रान्डले त्यसलाई निरन्तरता दिए ।
अघिल्लो साता सार्वजनिक भएको आईफोन १६ को क्यामेरा कन्ट्रोल बटन अहिले चर्चाको विषय बनेको छ । आईफोन १६ किन्नुको खास कारण एआई, क्यामेराको क्वालिटी र क्यामेरा कन्ट्रोल बटन मात्र हो । त्यसबाहेक अधिकांश फिचर आईफोन १५ सिरिजकै छन् ।
कम्पनीले आईफोन १६ लाई स्मार्टफोन मात्र नभई एक स्मार्ट व्यावसायिक क्यामेराका रूपमा ल्याउन लागेको छ । त्यसैले कम्पनीले क्यामेराकै लागि भनेर नयाँ सिरिजमा क्यामेरा बटन उपलब्ध गराएको हो । तर, क्यामेराका लागि फोनमा छुट्टै क्यामेरा बटन ल्याउने एप्पल पहिलो कम्पनी भने होइन । कम्पनीले क्यामेरा कन्ट्रोल बटनको प्रेरणा रियलमीबाट लिएको देखिन्छ ।
यसै विषयलाई लिएर रियलमीका चिफ मार्केटिङ अफिसर एवं उपाध्यक्ष चेस जुले चिनियाँ सामाजिक सञ्जाल विबोमा एक भिडिओ शेयर गरेका छन् । उक्त भिडिओमा सो बटनले कसरी काम गर्छ भन्ने देखाएका छन् । यो रियलमीले हालसम्म घोषणा नगरेको र निर्माण भइरहेको फोन हो ।
भिडिओमा रियलमीको उक्त बटनले आईफोन १६ कै जस्तो पावर बटनको तलपट्टि ‘सोलिड स्टेट बटन’का रूपमा रहेको देख्न सकिन्छ । त्यसलाई फोटो खिच्न, जुन गर्न र क्यामेरा एप खोल्न प्रयोग गर्न सकिने बताइएको छ ।
रियलमीले यस फिचरका लागि लामो समय खोज तथा अध्ययन गरेको जनाएको छ । रियलमीमा आइसकेको यो फिचर अन्य चिनियाँ स्मार्टफोन निर्माताले पनि छिट्टै ल्याउन सक्ने अपेक्षा गरिएको छ । त्यतिमात्र नभइ सामसङ र गुगलले पनि यो फिचर ल्याउने सम्भावना धेरै छ ।
रियलमीले ल्याउने यो फोनको मोडेल घोषणा गरिएको छैन । फोनको मूल्य भने मिडरेन्ज स्तरकै हुने अपेक्षा गरिएको छ ।