close

बोनस बाँड्ने भन्दै राष्ट्रिय वाणिज्य बैंकको नाममा अनलाइन ठगी धन्दा, सतर्क रहन आग्रह

टेकपाना टेकपाना

असोज ८, २०८१ १९:७

बोनस बाँड्ने भन्दै राष्ट्रिय वाणिज्य बैंकको नाममा अनलाइन ठगी धन्दा, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाममा स्क्याम फैलिएको छ । एक फेसबुक पेजबाट बैंकको नाम र लोगो दुरुपयोग गरी स्क्याम फैलाइएको हो । 

‘Samari Kirsten Doug’ नामको उक्त पेजमा भिडिओ पोस्ट सहितको विज्ञापन देख्न सकिन्छ । जहाँ एउटा लिङ्क दिएर सर्वसाधारणलाई लोभमा पार्न खोजिएको छ । ​भिडिओमा कुनै एप डाउनलोड गरेर चलाउँदा बैंक खातामा बोनस आउने कुरा देखाइएको छ । साथै त्यसैगरी बोनस पाउन एप डाउनलोड गर्नुपर्ने बताइएको छ ।

यद्यपि त्यहाँ राखिएको लिङ्क अहिले खुल्दैन । यता उक्त पेजले दाबी गरे अनुरूप हाल राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकलाई कुनै पनि बोनस बाँड्ने योजना ल्याएको छैन । यसअघि पनि उक्त बैंकको नाम र लोगो दुरुपयोग गरी फेसबुकमा चिट्ठाको नाममा स्क्याम/फिशिङ आक्रमण गरिएको थियो ।

बैंकले बेलाबेलामा सूचना निकाली आफ्नो आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालका भेरिफाइड अकाउन्टबाट मात्र आवश्यक जानकारीरसूचना लिन आग्रह गर्ने गरेको छ । साथै ग्राहकलाई अनधिकृत सञ्जालमा आफ्ना कुनै पनि विवरण, सूचना उपलब्ध नगराउन समेत सचेत गराएको छ ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८१ १९:१४