काठमाडौं । अब सबै प्रयोगकर्ताले नि:शुल्क रूपमा गुगलको एआई च्याटबट जेमिनाईसँग बोलेर कुराकानी गर्न सक्ने भएका छन् । गुगलले जिमिनाई लाइभ फिचर सबैका लागि नि:शुल्क रूपमा उपलब्ध गराएसँगै यस्तो सम्भव भएको हो ।
यसका लागि भने प्रयोगकर्ताहरूले जेमिनाई एप डाउनलोड गर्नु पर्ने हुन्छ । त्यसपछि प्रयोगकर्ताहरूले अङ्ग्रेजी भाषामा एआईसँग कुराकानी गर्न सक्ने छन् । जेमिनाई लाइभ यसअघिका स्ट्यान्डर्ड जेमिनाई र गुगल असिस्टेन्टभन्दा भिन्न रहेको छ । किनकि यसले कुराकानी सम्झन र प्राकृतिक तवरमा कुराकानी गर्न सक्छ ।
गुगलले यो फिचर हालै सम्पन्न पिक्सेल ९ सिरिजको लन्च कार्यक्रममा सार्वजनिक गरेको थियो । यसअघि यो फिचर जेमिनाई एड्भान्सका सब्सक्राइबरहरूमा मात्र सीमित गरिएको थियो ।
अहिले यो फिचर एन्ड्रोइड प्रयोगकर्ताहरूलाई उपलब्ध गराइएको हो । आईओएसमा भने कहिलेसम्म उपलब्ध हुन्छ भन्ने कुरा गुगलले अहिलेसम्म खुलाएको छैन । जेमिनाईको एन्ड्रोइडमा एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
जेमिनाईसँग कसरी बोलेर कुरा गर्ने ?
एप डाउनलोड गरिसकेपछि सबैभन्दा पहिले तल दायाँपट्टि रहेको क्लाउडको आइकनमा ट्याप गर्नुहोस् ।
त्यसपछि जेमिनाई लाइभको पेज खुल्छ ।
यसमा तपाईंले आफूले अङ्ग्रेजी भाषामा कुरा गर्न सक्नुहुन्छ । गुगलले सुरुवाती चरणमा अङ्ग्रेजी सहित केही अन्तर्राष्ट्रिय भाषा सपोर्ट गर्ने भनेको भए पनि यसबाट प्रष्ट नेपाली बोलेरै पनि कुरा गर्न सकिन्छ ।