काठमाडौं । गत असोज १२ र १३ गते परेको अत्यधिक वर्षा र त्यसले निम्त्याएको बाढी तथा पहिरोले देशभरका विभिन्न ठाउँमा रहेका विद्युतीय सवारी साधनमा गम्भीर क्षति पुर्यायो । लामो यात्रामा निस्किएका साधनहरू मात्र नभएर घर तथा कार्यालयकै पार्किङमा राखिएका सवारी पनि बाढीको चपेटामा परेको गाडी वितरक, सर्भिस सेन्टर तथा बीमा कम्पनीहरूले जनाएका छन् ।
यस बाहेक घण्टौँसम्म पानीमा डुबेको कारण गाडीमा क्षति पुगेको भन्ने किसिमका भिडिओहरू सामाजिक सञ्जालहरूमा पनि भाइरल भइरहेका छन् । यसैबीच बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपमा परेका सवारी साधनको हकमा बीमा कम्पनीहरूले क्षति ब्योर्दैनन् भन्ने छलफल पनि सुरु भएको देखिन्छ ।
के साँच्चै बीमाले बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपमा परेका ईभीहरूको क्षतिलाई समेट्दैन ? यो प्रश्नको उत्तर दिनुपूर्व सर्वप्रथम के बुझ्नुपर्छ भने नेपालमा हाल सवारी साधनहरूमा विशेषगरी दुई प्रकारका बीमा प्रचलनमा छन् । पहिलो तेस्रो पक्ष बीमा नीति र दोस्रो व्यापक बीमा नीति ।
सवारी दुर्घटनाका कारण तेस्रो पक्षलाई कुनै हानि नोक्सानी हुन गएको अवस्थामा बीमा कम्पनीमार्फत क्षतिपूर्ति दिलाउने बीमा नीतिलाई तेस्रो पक्ष बीमा नीति भनिन्छ । व्यापक बीमा अन्तर्गत भने सवारी साधन चोरी भएमा, कतै ठोक्किएर सवारी साधनमा क्षति भएमा, आगजनी भएमा वा अन्य कुनै कारणले क्षति भएमा समेत क्षतिपूर्ति पाउन सकिन्छ । यस कारण बाढी, पहिरो लगायतका प्रकोपबाट ईभी वा कुनै पनि सवारी साधनमा पुगेको क्षतिलाई समेट्न सवारीधनीले व्यापक बीमा नीति लिएको हुनुपर्छ ।
नेपाल सरकारले हाल यातायात वा ढुवानी प्रयोजनको लागि सवारी साधनको दर्ता वा नवीकरण गर्दा कम्तीमा तेस्रो पक्ष बीमालाई अनिवार्य बनाएको छ । तेस्रो पक्ष बीमा नीति मात्र लिने वा व्यापक बीमा नीति लिने भन्ने विषय भने सवारी धनीकै स्वनिर्णयको विषय हो । व्यापक बीमा नीति तेस्रो पक्ष बीमा नीतिको तुलनामा केही महँगो हुने भएपनि यसले समेट्ने क्षेत्रहरू धेरै हुन्छन् ।
विभिन्न बीमा कम्पनीहरूले टेकपानालाई जानकारी गराए अनुसार बाढी तथा डुबानले ईभीमा क्षति पुर्याएर बीमा दाबी गर्नुपर्ने अवस्था सिर्जना भएको अवस्थामा सर्वप्रथम सवारीधनीले आफूले व्यापक बीमा गराएको शाखामा गई निवेदन दिनुपर्छ । यसरी निवेदन दिन जाँदा सवारी साधनमा पुगेको क्षति प्रष्ट देखिने गरी फोटो खिचेर समेत लैजाँदा सहज हुने बीमा कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।
यसरी निवेदन दिएपछि बीमा कम्पनीले क्षतिपूर्ति दाबी फारम (क्लेम फर्म) भर्न लगाउँछ । उक्त फारममा साधनको बीमा पोलिसी नम्बर, सम्पर्क नम्बर, साधनको मोडल, साधन उत्पादक कम्पनीको नाम, इन्जिन वा च्यासिस नम्बर, बीमा रकम तथा साधनको मूल्य र इन्जिनको क्षमताको लगायतका जानकारी भर्नुपर्ने हुन्छ ।
यो प्रक्रिया पूरा गरेपछि गाडीमा के-के क्षति पुग्यो भन्ने 'कोटेसन' तयार पार्नुपर्छ । सर्भिस सेन्टरले गाडीको कुन-कुन भागमा कति क्षति पुग्यो र सोको मर्मत गर्न कति खर्च लाग्छ भन्ने विवरण भरिएको फार्मलाई नै कोटेसन भन्ने गरिन्छ ।
बीमा गरिएका साधनको 'कोटेसन' नबुझाएसम्म गाडीको मर्मत सुरु गर्न हुँदैन । 'कोटेसन'मा भएको रकमको आधारमा बीमा कम्पनीले सोधभर्ना गरिदिने वा आफ्नै निरीक्षक पठाएर गाडीको थप निरीक्षण गर्छ । सामान्यतया दाबी रकम अत्यधिक भएको खण्डमा मात्र बीमा कम्पनीले निरीक्षक पठाउने गर्छ ।
यी प्रक्रिया पूरा भएपछि बीमा कम्पनीले खर्च भएको रकम ग्राहकलाई सोधभर्ना गरिदिन्छ । कुनै बीमा कम्पनीले आफ्नो सहकार्यमा भएका सर्भिस सेन्टरमा गई गाडी मर्मत गरेको खण्डमा सिधै सर्भिस सेन्टरलाई भुक्तानी गरिदिने गरी क्यासलेस अफर पनि ल्याएका हुन सक्छन् । यो सुविधा भने बीमा कम्पनीमा निर्भर हुने कुरा हो ।