close

नबिल बैंकको कार्डमा आधारित विप्रेषण प्लेटफर्म हाम्रोपात्रोमा, ५ हजार डलरसम्म पठाउन सकिने

टेकपाना टेकपाना

असोज २२, २०८१ ९:२०

नबिल बैंकको कार्डमा आधारित विप्रेषण प्लेटफर्म हाम्रोपात्रोमा, ५ हजार डलरसम्म पठाउन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रोपात्रो) बीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । नबिल बैंकको तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नबिल बैंकले कार्डमा–आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रोपात्रो एपमा समावेश गरेको छ । नेपालबाहिर रहेका हाम्रोपात्रो प्रयोगकर्ताहरूले अब एपको ‘रेमिटेन्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्ने छन् । जसअन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर विप्रेषण रेमिटेन्स पठाउन सकिनेछ ।

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरूले न्यूनतम युएस डलर १०० देखि  अधिकतम पाँच हजार डलरसम्म पठाउन सक्नेछन् । नबिल बैंकका अनुसार रेमिटेन्स प्राप्तकर्ताले नेपालभित्र जुनसुकै बैंक खातामा तुरुन्तै रकम निकाल्न गर्नेछन् ।

नबिल बैंकले २०२२ डिसेम्बरदेखि  आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको छ । यो सेवाको पहिलो पटक तेस्रो पक्षसँगको सहकार्यमा विस्तार गरिएको हो ।

“यो बैंकिङ सेवाको लागि एउटा कोशेढुंगा हो, किनकि यसले देशमा खुला बैंकिङको पहिलो पहललाई प्रतिनिधित्व गर्दछ,” नबिल बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा एनबैंकका नायब महाप्रबन्धक, आदर्श बजगाईँले भने ।

यस सम्झौतामार्फत दुवै संस्थाहरूले देशमा विप्रेषण प्रक्रियालाई सरल बनाउने उद्देश्य राखेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २२, २०८१ ९:४५