काठमाडौं । अब एन्ड्रोइड फोनमा समेत लिनक्स एप (लिनक्स ओएसमा मात्र चल्ने) चलाउन सकिने भएको छ । लिनक्स एपलाई एन्ड्रोइडमा सपोर्ट दिने गरी गुगलले काम गरिरहेको हो ।
यो फिचर क्रोमबुकमा गुगलले थपेको लिनक्स सपोर्ट जस्तै हुनेछ । यसपछि एन्ड्रोइड स्टुडिओ जस्ता एन्ड्रोइडमा उपलब्ध नभएका एप सजिलै चलाउन सकिने छ । हुन त एन्ड्रोइडमा अहिले अन्य माध्यमबाट लिनक्स एप चलाउन सकिन्छ । तर अब भने औपचारिक रूपमा नै यस्तो फिचर आउन लागेको हो ।
यसका लागि टर्मिनल एप बनाउन इन्जिनियरहरूले काम सुरु भएको एन्ड्रोइड एथोरिटीले लेखेको छ । उक्त टर्मिनल एप एन्ड्रोइड भर्चुअलाइजेसन फ्रेमवर्क (एभीएफ) अन्तर्गतको हिस्सा हुने छ । यसले एन्ड्रोइड फोनमा लिनक्स कमाण्ड चलाउने वातावरण बनाउने गर्छ ।
यसमार्फत लिनक्सलाई भर्चुअल मसिनसँग जोड्न र लिनक्स कमाण्डहरू चलाउन सकिने बताइएको छ । यही टर्मिनल एपलाई अझ प्रयोगकर्तामैत्री बनाउन गुगलका इन्जियरहरूले काम थालेका हुन् । यो परिवर्तन एन्ड्रोइड १६ अपडेटसँगै सार्वजनिक हुने अनुमान छ ।