काठमाडौं । यदि तपाईंसँग पर्याप्त रकम छैन भने ल्यापटपको राम्रो विकल्प हुन सक्छ, ट्याबलेट । तुलनात्मक रुपमा ट्याबलेट सस्ता हुन्छन् । र यसबाट पनि ल्यापटपमा गरिने अधिकांश काम गर्न सकिन्छ ।
नोट टिप्न/बोक्न सजिलो हुनु, ब्याट्री टिक्नु, सस्तो हुनु ट्याबलेटका केही फाइदा हुन् । यदि तपाईं विद्यार्थी हुनुहुन्छ अनि पढाइका लागि ट्याबलेट खरिद गर्दै हुनुहुन्छ भने किन्नअघि ध्यान दिनु पर्ने कुराबारे चर्चा गर्दै छौं:
स्क्रिन
ट्याबलेटको स्क्रिन अलि ठूलो छ भने चलाउन अझ रमाइलो हुन्छ । यसकारण सकेसम्म तपाईंले ठूलो स्क्रिन भएको ट्याबलेट लिनु राम्रो हुन्छ । कम्तीमा ११ इन्च स्क्रिन भएको ट्याबलेट लिनु राम्रो हुन्छ ।
अपरेटिङ सिस्टम
ट्याबलेट कि त एन्ड्रोइडमा चल्छ कि त आईप्याड ओएसमा । एन्ड्रोइडमा तपाईंले अन्य विभिन्न विकल्प पनि भेट्न सक्नुहुन्छ । तर तपाईंसँग आईफोन पहिल्यैदेखि छ भने आईप्याड लिनु राम्रो हुन्छ । यसो हुँदा एक-आपसमा फाइल शेयर गर्न सजिलो हुन्छ । त्यस्तै एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने एन्ड्रोइड ट्याबलेट लिनु राम्रो हुन्छ ।
आधिकारिक किबोर्ड फोलियो
कतिपय ट्याबलेट किन्दा आधिकारिक किबोर्ड फोलियो (किबोर्ड केस) पनि पाइन्छ । यसले ट्याबलेटलाई ल्यापटप सरह बनाइदिन्छ । अनि ट्याबलेटमा टाइप गर्न पनि सजिलो हुन्छ । यसो हुँदा सकभर ट्याबलेटसँगै आधिकारिक किबोर्ड फोलियो लिनु राम्रो हो ।
स्टाइलस अथवा पेन्सिल
किबोर्ड जस्तै ट्याबलेट चलाउन स्टाइलस अथवा पेन्सिल आए झन् राम्रो हुन्छ । कतिपय ट्याबलेटमा प्याकेजका रुपमा स्टाइलस उपलब्ध हुन्छ । यसले नोट बनाउन मात्र सजिलो हुने होइन कि डकुमेन्टमा हस्ताक्षर गर्न, डिजिटल क्यानभासमा चित्र कोर्न पनि उपयोगी हुन्छ ।
नेटवर्क कनेक्टिभिटी
अहिलेका कतिपय ट्याबलेटमा फोरजी/फाइभजी कनेक्टिभी उपलब्ध हुन्छ । अझ कतिपय ट्याबलेटमा त भोइस कलको पनि सुविधा हुन्छ । तपाईं प्राय: घर बाहिर हिँडिरहनु पर्ने हुन्छ भने नेटवर्क राम्रोसँग टिप्ने ट्याबलेट खरिद गर्नु राम्रो हुन्छ । यसो हुँदा ट्याबलेटबाट हट्सपट छाडेर स्मार्टफोन अथवा ल्यापटप पनि चलाउन सकिन्छ ।
स्टोरेज
यदि तपाईं ट्याबलेटलाई ल्यापटप जस्तै चलाउन चाहनुहुन्छ भने स्टोरेज नछुटाइकन हेर्नुपर्छ । किनकि चाँडै स्टोरेज भरिए खाली गराउन टन्नै समय लाग्छ । कम्तिमा पनि तपाईंले २५६ जीबी स्टोरेज भएको ट्याबलेट लिनु राम्रो हुन्छ । यसका साथै एक्सटर्नल स्टोरेजका लागि माइक्रो एसडी कार्ड सपोर्ट गर्ने ट्याबलेट किन्दा अझ तपाईंलाई सजिलो हुन्छ ।
फास्ट यूएसबी सी पोर्ट
धेरैजसो बजेट ट्याबलेट यूएसबी सी पोर्टसँगै आउँछन् । तर ती त्यति फास्ट हुनन् । फास्ट यूएसबी सी पोर्ट हुँदा फाइल चाँडो हुने, एक्सटर्नल मोनिटरमा जोड्दा समस्या नहुने जस्ता फाइदा रहेका छन् । यसकारण तपाईंले ट्याबलेटमा फास्ट यूएसबी-सी पोर्ट भएको हेर्नु राम्रो हुन्छ ।
ब्याट्री र फास्ट चार्जिङ
यी माथिका सबै भएर पनि ब्याट्री टिक्दैन अनि चार्ज गर्न लामो समय लगाउनुहुन्छ भने मतलब नै हुँदैन । यसकारण तपाईंले ब्याट्री धेरै टिक्ने र चाँडो चार्ज हुने खालका ट्याबलेट किन्नु पर्ने हुन्छ ।