close

अनलाइनबाटै यसरी लिनुहोस् सरकारी सुविधा प्राप्त गर्न आवश्यक आदिवासी जनजाति प्रमाणपत्र

टेकपाना टेकपाना

कात्तिक ८, २०८१ १४:४५

अनलाइनबाटै यसरी लिनुहोस् सरकारी सुविधा प्राप्त गर्न आवश्यक आदिवासी जनजाति प्रमाणपत्र

काठमाडौं । आदिवासी जनजाति प्रमाणपत्र नेपालमा विभिन्न प्रशासनिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा विशेष सुविधा पाउनका लागि प्रयोग गरिने आधिकारिक कागजात हो । यसकारण शैक्षिक कोटा तथा छात्रवृत्ति पाउन होस् अथवा सरकारी सेवामा आरक्षणमा पर्न यो प्रमाणपत्र अनिवार्य छ । 

गत वर्षसम्म यस प्रमाणपत्र भौतिक रुपमा नै उपस्थित भएर लिनुपर्थ्यो । अब भने यो काम अनलाइनबाटै गर्न सकिन्छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रदान गर्ने यो प्रमाणपत्र अनलाइनबाट कसरी लिने भनेर यहाँ चर्चा गरिएको छ: 

-सबैभन्दा सुरुमा प्रतिष्ठानको वेबसाइटमा जानुहोस् । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

-क्याटगोरीमा रहेको आदिवासी जनजाति प्रमाणपत्रमा क्लिक गर्नुहोस् ।

-आफ्नो मोबाइल नम्बर राख्नुहोस् । 

-सो नम्बरमा आएको ओटीपी राख्नुहोस् । यसपछि अनलाइन फारम आउँछ।

-फारममा उल्लेख भए बमोजिम व्यक्तिगत विवरण, ठेगाना भर्नुहोस् ।

-आवश्यक कागजपत्रहरू (पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्मदर्ता, सम्बन्धित जातीय संस्था वा वडा कार्यालयको सिफारिस, सम्बन्धित व्यक्तिको हस्ताक्षर, श्रीमानको नागरिकताबाट प्रमाणपत्र निकाल्न चाहेमा विवाह दर्ता प्रमाणपत्र) अपलोड गर्नुहोस् ।

-भरेको विवरण ठीक भए नभएको प्रिभ्यू हेर्नुहोस् । कतै गल्ती भए सम्पादन गर्नुहोस् ।

-यसपछि तपाईंले पाँच सय रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । यसका लागि त्यहाँ विकल्प देखिन्छ । मोबाइल बैंकिङ एपमा तपाईंले सजिलै यो काम गर्न सक्नुहुन्छ । 

-भुक्तानी असफल भएपछि तपाईंले फारम भर्ने काम सम्पन्न हुन्छ । यसपछि तपाईंको विवरण प्रतिष्ठानको अधिकारीले चेक जाँच गर्ने छन् ।

-यदि ठीक भएमा तपाईंको आवेदन मान्य हुने छ । यसपछि तपाईंले प्रतिष्ठानको वेबसाइटको क्याटगोरीमा रहेको 'आदिवासी जनजाति प्रमाणपत्र'मा क्लिक गरेर आदिवासी जनजाति प्रमाणपत्रको कार्ड प्रिन्ट अथवा डाउनलोड गर्न सक्नुहुनेछ । 

यदि तपाईंलाई सक्कल प्रति चाहिन्छ भने प्रतिष्ठानको कार्यालय सानेपा, ललितपुरमा जानुपर्ने हुन्छ । प्रतिष्ठानका अनुसार अनलाइन फारम भरेको तत्कालै वा २४ घण्टाभित्र आदिवासी जनजाति प्रमाणपत्र प्राप्त हुनेछ । तर अपलोड गरेको प्रमाणहरू नमिले निवेदन स्वीकृत हुँदैन ।

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८१ १४:५२