close

आफ्नै सर्च इन्जिन ल्याउने तयारीमा मेटा

टेकपाना टेकपाना

कात्तिक १३, २०८१ १५:४५

आफ्नै सर्च इन्जिन ल्याउने तयारीमा मेटा

काठमाडौं । गुगल र माइक्रोसफ्टमाथिको निर्भरता घटाउन फेसबुकको माउ कम्पनी मेटाले आफ्नै सर्च इन्जिन ल्याउने भएको छ । मेटाको एआई च्याटबटमा वर्तमान घटनाहरूको सारांश उपलब्ध गराउने गरी कम्पनीले सर्च इन्जिन ल्याउन लागेको हो । 

द इन्फर्मेसनका अनुसार मेटाको टिमले विगत आठ महिनादेखि आफ्नो च्याटबटका लागि जानकारीहरूको डेटाबेस निर्माणमा काम गरिरहेको छ । इन्स्टाग्राम र फेसबुकमा उपलब्ध मेटाको एआई बटले ताजा घटनाहरू र समाचारहरू सम्बन्धी प्रश्नहरूको उत्तर दिन गुगल र माइक्रोसफ्टको बिङको सहारा लिने गरेको छ । यही परनिर्भरता घटाउन मेटाले यस्तो कदम चाल्ने भएको हो । 

गत हप्ता मात्रै मेटाले समाचार संस्था रोयटर्ससँग बहुवर्षीय सम्झौता गरेको छ । यसले गर्दा मेटाको च्याटबटले उत्तर दिने क्रममा रोयटर्सका समाचारलाई प्रयोग गर्न सक्नेछ । ‍मेटाको यो कदमले पनि सर्च इन्जिन ल्याउने कुरालाई सहयोग पुगेको छ ।

पछिल्लो समय विभिन्न प्रविधि कम्पनीहरूले आ-आफ्नै सर्च इन्जिन बनाउन लागि परेका छन् । यसको उदाहरण ओपनएआई र पर्प्लेक्सिटी हुन् । त्यस्तै मेटाले गुगल म्याप्सलाई पनि प्रतिस्पर्धा दिने गरी नयाँ एप ल्याउन काम गरिरहेको बताइएको छ ।


 

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८१ १५:४५