close

बुर्ज खलिफाको टुप्पोमा पुग्ने ८ औं व्यक्ति बने युट्युबर मिस्टर बिस्ट

टेकपाना टेकपाना

कात्तिक १९, २०८१ १३:३५

बुर्ज खलिफाको टुप्पोमा पुग्ने ८ औं व्यक्ति बने युट्युबर मिस्टर बिस्ट

काठमाडौं । युट्युबर मिस्टर बिस्ट विश्वको सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’को टुप्पोमा पुग्ने आठौं व्यक्ति बनेका छन् । मिस्टर बिस्ट नामबाट परिचित अमेरिकी युट्युबर डोनाल्डसनले एक भिडिओ मार्फत बुर्ज खलिफाको सबैभन्दा माथिल्लो भागमा पुगेको जानकारी दिएका हुन् । 

अहिले उनी बुर्ज खालिफाको चुचुरोमा पुगेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । “म सफल भएँ ! म संसारको सबैभन्दा अग्लो भवनको टुप्पोमा उभिएको छु,” उक्त क्लिपमा युट्युबर बिस्टले भनेको सुन्न सकिन्छ । यसको पूरा भिडिओ बिस्टले २ नोभेम्बरमा युट्युबमा अपलोड गरेका थिए ।

उनले अगाडि भनेका छन्, “यो त डरलाग्दो छ ! मैले तल नहेरेको भए हुने रहेछ ।”

पछिल्लो समय मिस्टर बिस्टलाई थुप्रै किसिमका आरोप लागेका छन् । उनले बनाउने गरेका भिडिओ विभिन्न तवरबाट विवादित बनेका छन् । उनले भिडिओ देखावटी बनाउने गरेको भन्दै प्रमाणसहित नक्कली भएको दाबी गर्नेहरू युट्युबमा तमाम छन् । 

सन् २०१० देखि सञ्चालनमा आएको बुर्ज खलिफामा पहिलो पटक एलियन रोबर्ट त्यसको चुचुरोमा पुगेका थिए ।  त्यसपछि टम क्रुज, शेख हामदान, निकोल स्मिथ लडविक, विल स्मिथ, साम सन्डरल्यान्ड र एलेक्सिस ल्यान्डट लगायतका व्यक्तिहरू चढेका थिए । 

सर्वसाधारणलाई बुर्ज खलिफाको माथिल्लो भागमा जाने अनुमति छैन । १६३ तला रहेको उक्त भवनमा सर्वसाधारणले १४८ औं तलासम्म चढ्न पाउँछन् । त्यसभन्दा माथिका तलाहरू मेकानिकल कामका लागि प्रयोग हुन्छन् । १६० औं तलामा पुग्न २९०९ ओटा सिँढी चढ्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८१ १३:३५