काठमाडौं । ट्वीटरको नामले परिचित एक्सले ब्लक सम्बन्धी विवादित फिचरको रोलआउट सुरु गरेको छ । विश्व धनाढ्य अर्बपति एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले ब्लक गरिएका व्यक्तिले समेत तपाईंका पब्लिक पोस्ट हेर्न सक्ने गरी नयाँ अपडेट ल्याएको हो ।
कतिपय प्रयोगकर्ताले यस किसिमको परिवर्तन विरुद्ध असहमति जाहेर गरेका छन् । सुरक्षाका कारण आफ्ना पोस्ट ब्लक गरिएका व्यक्तिले देख्न नसक्ने बनाउन जरुरी रहेको तर्क उनीहरूको छ ।
यद्यपि यो नयाँ परिवर्तन पश्चात् पनि ब्लक गरिएका व्यक्तिले आफूलाई ब्लक गर्ने व्यक्तिलाई फलो गर्न, उनीहरूको पोस्टमा अन्तरक्रिया गर्न अथवा डाइरेक्स मेसेज (डीएम) गर्न भने सक्ने छैनन् । एक्सको पुरानो संस्करणको एउटा सपोर्ट पेज भन्छ कि ब्लक गरिएका प्रयोगकर्ताले ब्लक गर्ने प्रयोगकर्ताको फलोइङ र फलोअर लिस्ट हेर्न सक्दैनन् ।
कम्पनीले अहिले उक्त पेज अपडेट गर्दै सो सन्दर्भ सामग्री हटाएको छ र अहिले ब्लक गरिएका प्रयोगकर्तालाई ब्लक गर्ने व्यक्तिको फलोइङ र फलोअर लिस्ट हेर्न अनुमति दिइएको छ ।