close

अली पे प्रयोगकर्ताले अब नेपाल आउँदा क्यूआर मार्फत भुक्तानी गर्न पाउने

टेकपाना टेकपाना

कात्तिक २३, २०८१ १२:८

अली पे प्रयोगकर्ताले अब नेपाल आउँदा क्यूआर मार्फत भुक्तानी गर्न पाउने

काठमाडौं । अब चीन, सिङ्गापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली सहित १० देशका नागरिकले आफ्नो देशको ईवालेट तथा मोबाइल बैंकिङ एपमार्फत नेपालमा सोझै भुक्तानी गर्नसक्ने भएका छन् । नेपालपे क्यूआर र अलिपे प्लसबीच अन्तरदेशीय भुक्तानीको सुरुवात भएसँगै ती देशका नागरिकले नेपालमा भुक्तानी गर्नसक्ने भएका हुन् । 

हालै सम्पन्न सिङ्गापुर फिनटेक फेस्टिभल २०२४ मा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एन्ट इन्टरनेसनलले यो सेवाको संयुक्त घोषणा गरे । यससँगै ती देशका नागरिकले नेपाल भ्रमण गर्दा नेपालपे क्यूआरको नेटवर्क सहित आठ लाख ७५ हजारभन्दा बढी मर्चेन्टलाई भुक्तानी गर्नसक्ने छन् ।

यस अन्तर्गत अलिपे प्लसका साझेदारहरू अलिपे (चिनियाँ मेनल्याण्ड), अलिपेएचके (हङकङ एसएआर), टिनाबा (इटाली), एमपे (मकाउ एसएआर), टच एन गो ईवालेट र बहार्डको माइपीबी (मलेसिया) बाट नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्न सकिने छ ।

त्यसैगरी हाईपे (मंगोलिया), जीक्याश (फिलिपिन्स), च्याङ्गी पे र ओसीबीसी डिजिटल (सिङ्गापुर), टस पे (दक्षिण कोरिया) र ट्रुमनि (थाइल्याण्ड) बाट समेत भुक्तानी गर्न सकिने छ । 

एन्ट इन्टरनेसनल (अलिपे प्लस) र एनसीएचएलले अन्तरदेशीय भुक्तानीको सुरुआत गर्न गत मे २०२४ मा प्रारम्भिक सामझदारीपत्रमा हस्ताक्षर गरेका थिए । अब यो कार्यान्वयनमा जाने भएको हो ।

अन्तरदेशीय भुक्तानी र नेपालको रिटेल पेमेन्ट सिस्टमलाई विश्वव्यापी रूपमा चिनाउन यस साझेदारीले ठूलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । यसका साथै नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई समेत सहज हुने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८१ २२:३७