काठमाडौं । एप्पलले एन्ड्रोइड डिभाइसबाट आएका मेसेज रियाक्सन (इमोजीमार्फत दिने प्रतिक्रिया ) सही तरिकाले देखाउन थालेको छ । एन्ड्रोइड प्रयोगकर्ताले आरसीएस मेसेजमा कुनै पनि रियाक्सन जनाउँदा सही तरिकाले देखिन थालेको हो ।
द भर्जका अनुसार अहिले यो समस्या समाधान भइसकेको छ । यससँगै फरक-फरक एन्ड्रोइड डिभाइसबाट आईओएस १८.१ मा चल्ने आईफोनमा मेसेज रियाक्सन पठाउँदा सही तरिकाले आएको देख्न सकिन्छ । तर यो सुधार कहिले भयो र एप्पल वा गुगल कसले गर्यो भन्ने निश्चित नभएको द भर्जले उल्लेख गरेको छ ।
एप्पलले एन्ड्रोइडमा भएको यस आरसीएस मेसेजिङ स्ट्यान्डर्ड लामो समयसम्म अपनाउन मानिरहेको थिएन । तर चीन र युरोपेली संघबाट आएको दबाबका कारण अन्ततः आईओएस १८.१ देखि एप्पलले आरसीएस सपोर्ट दिन थालेको हो ।
आरसीएसमा एचडी फोटो, ग्रुप च्याट, टाइपिङ इन्डिकेटर, रिड रिसिप्ट, इमोजी रियाक्सन जस्ता फिचर रहेका छन् । तर पनि एप्पलले आफ्नो आईमेसेजमा नै बढी फिचर दिँदै आएको छ ।