काठमाडौं । राइड हेलिङ प्लेटफर्म इनड्राइभले ‘इनड्राइभ कम्फर्ट’ सेवा सुरु गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले यस्तो सेवा थपेको हो ।
यात्रीहरूलाई बढी आरामदायक र प्रिमियम यात्रा विकल्प दिने उद्देश्यसहित यो सेवा थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीले सुरु गरेको यो सुविधा अन्तर्गत यात्रुले प्रिमियम गाडी (खासगरी ईभी) को फ्लिटमा एक्सेस पाउनेछन् ।
फ्लिटमा स्तरीय सुविधा र अतिरिक्त स्पेस उपलब्ध हुने कम्पनीको भनाई छ । खासगरी प्रिमियम गाडीमा आरामदायी यात्रा गर्न चाहने यात्रुलाई लक्षित गरी कम्पनीले यो सुविधा थपेको हो ।
“इनड्राइभमा हामी हाम्रा ग्राहकहरूको आवश्यकता पूरा गर्ने यात्रा विकल्पहरू प्रदान गर्न समर्पित छौं । चाहे त्यो किफायती मूल्य, सुविधा, वा थप आराम होस्,” इनड्राइभ दक्षिण एसियाका सिनियर मार्केटिङ म्यानेजर अविक कर्माकरले भने, “इनड्राइभ कम्फर्ट राइडहरूको शुभारम्भ नेपालमा इनड्राइभको लागि एक रोमाञ्चक विकास हो । हामी हाम्रा प्रयोगकर्ताका विशेष आवश्यकता पूरा गर्ने उद्देश्यले अनुकूलित यात्रा विकल्पहरू प्रदान गर्न प्रतिबद्ध छौं ।”
इनड्राइभ कम्फर्टमा यात्रीले एक स्तरीय, रमाइलो र उचित मूल्यका यात्रा अनुभव पाउन सक्ने उनले सुनाए । इनड्राइभकी एसिया प्यासिफिक सञ्चार प्रमुख पवित नन्दा आनन्दले थपिन्, “हामी चालक र यात्रु दुवैलाई आफ्नै साहसिक यात्रा छनोट गर्ने स्वतन्त्रता दिन्छौं । यसले तपाईंलाई चालक चयन गर्ने अवसर मिल्छ । के तपाईं फलानो व्यक्तिलाई १० मिनेट पर्खिन चाहनुहुन्छ, जो तपाईंलाई एक ईभी गाडीमा लिन आउनुहुन्छ, वा तपाईंलाई नियमित राइड मनपर्छ, जुन केवल २ मिनेटमा तपाईंलाई लिन आउँछ ?”
उनले इनड्राइभमा बजार सेट गर्ने कुनै एल्गोरिदम र सर्ज नभएको उल्लेख गरिन् । यो भनेको यात्रु, चालकको र स्थानको अवस्था विश्लेषण गरी भाडा निर्धारण गर्ने प्रणाली हो । इनड्राइभले आफूहरूले सबै प्रयोगकर्तालाई राइडर छनोटमा स्वतन्त्रता र निष्पक्षता ल्याउने काम गरिरहेको जनाएको छ ।
कम्पनीले अब राइडरको बीमा योजना पनि ल्याउने जनाएको छ । ठ्याक्कै यो सेवा कहिलेदेखि सुरु हुन्छ भन्नेबारेमा भने कम्पनीले केही खुलाएको छैन । इनड्राइभले राइडरहरूको समस्या समाधान गर्नका लागि काठमाडौंमा सम्पर्क केन्द्र समेत बनाउने योजना सार्वजनिक गरेको छ । त्यसैगरी उत्कृष्ट राइड गर्ने चालकलाई सम्मान गर्ने कार्यक्रम ल्याउने कम्पनीको आगामी योजना छ ।
त्यसका साथै नेपालमा विद्युतीय सवारी प्रवर्धन गर्न ‘ग्रो ईभी इनड्राइभ इलेक्ट्रो’ योजना ल्याउने कम्पनीको लक्ष्य रहेको छ । त्यसका साथै नेपालभर इनड्राइभ विस्तार गर्न विभिन्न रणनीति अपनाउने कम्पनीले उल्लेख गरेको छ ।