काठमाडौं । अहिले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा स्नातक तहमा भर्ना चली रहेको छ । प्रवेश परीक्षा सम्पन्न भएको तीन महिनासम्म पनि धेरै जसो कलेजले विद्यार्थी क्षमता अनुसार भर्ना गर्न सकेका छैनन् ।
यस बिचमा केही चरणको भर्ना सकिएको छ । तर आईओईका चार आङ्गिक र १० सम्बन्धन प्राप्त कलेजहरूले विद्यार्थी क्षमता अनुसार भर्ना गर्न भने सकेका छैनन् । आङ्गिक क्याम्पस मध्ये पुल्चोक इन्जिनियरिङ क्याम्पसले मात्र क्षमता अनुसार विद्यार्थीहरू पाएको छ ।
आईओईको एकीकृत भर्ना प्रणाली अनुसार अहिले पुल्चोक क्याम्पसमा कुनै पनि विद्यार्थी सिट खाली छैन । आईओईले यस क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ गरी ८ ओटा विषय पढाउन अनुमति दिएको छ ।
ती सबैको पूर्ण शुल्कीय र छात्रवृत्तिमा कूल ६२४ विद्यार्थी सिट रहेको छ । यी सबैमा विद्यार्थी भएका हुन् । आजको मितिसम्म थापाथली इन्जिनियरिङ क्याम्पसमा ४३२ मा २५, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा ४३२ मा ७२, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा ५२८ मा १०७ र चितवन इन्जिनियरिङ क्याम्पसमा २४ मा १० सिट खाली छन् ।
त्यस्तै निजी कलेजहरूमा काठमाडौं इन्जिनियरिङ कलेजमा ३८४ मध्ये १२३, कान्तिपुर इन्जिनियरिङ कलेजमा २८८ मा ८४, सगरमाथा इन्जिनियरिङ कलेजमा १४४ मा ४९ सिट खाली रहेको देखिन्छ । यसैगरी एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा ३३६ मा १६७, हिमालय कलेज अफ इन्जिनियरिङमा २४० मा ४३, नेसनल कलेज अफ इन्जिनियरिङमा २४० मा ११०, ललितपुर इन्जिनियरिङ कलेजमा ९६ मा २३ सिट खाली छन् ।
यसका साथै क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा १९२ मा ११९, जनकपुर कलेज अफ इन्जिनियरिङमा १९२ मा २७ सिट रिक्त छन् ।
यद्यपि भर्नाको समय अझै बाँकी रहेकाले आगामी दिनमा खाली भएका सिटहरू पनि भरिने आईओईको विश्वास छ । यस पटक आईओईको प्रवेश परीक्षामा कूल ९ हजार ३६० परीक्षार्थी सहभागी भएका थिए ।