काठमाडौं । करिब ४० करोड ४५ लाख रुपैयाँ पुरस्कार राशि भएको पब्जी प्रतियोगिता ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)’ मा नेपाली टिम डीआरएस गेमिङ खेल्दैछ । आजदेखि हुने प्रतियोगिताको ग्रिन ग्रुप अन्तर्गतका खेलमा डीआरएस गेमिङ भिड्न लागेको हो । यस ग्रुपमा १६ टिम एकसाथ प्रतिस्पर्धा गर्दैछन् ।
ग्रिन ग्रुपबाट शीर्ष तीन टिम सिधै फाइनलका लागि छनोट हुनेछन् । त्यसैगरी चौंथोदेखि ११औं स्थानमा रहेका टिमले सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछन् । बाँकी पाँच टिम भने प्रतियोगिताबाटै बाहिरिनेछन् ।
पीएमजीसीमा बाँकी दुई समूह रेड र एल्लो रहेका छन् । यसमा पनि १६/१६ ओटा टिम थिए । यी दुई समूहबाट शीर्ष तीन/तीन टिम अन्तिम चरणमा गइसकेका छन् । यसअघि एल्लो ग्रुपमा रहेको अर्को नेपाली टिम होरा ईस्पोर्ट्स शीर्ष ११औं स्थानभित्र पर्न नसक्दा प्रतियोगिताबाट बाहिरिसकेको छ ।
सर्भाइभल स्टेज प्रतियोगिताको दोस्रो चरण हो । यहाँ ग्रुप स्टेजमा राम्रो प्रदर्शन गरेका टिमहरूबीच प्रतिस्पर्धा हुनेछ । यसमा हरेक समूहबाट आठ-आठ टिम गरेर कुल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यो स्टेजमा हरेक टिमले दिनको छ खेल गरी तीन दिनमा कुल १८ खेल खेल्न पाउनेछन् । अंक तालिकामा शीर्ष १६ भित्र अटाउने टिमले लास्ट चान्स चरणमा प्रतिस्पर्धा गर्नेछन् भने बाँकी आठ टिम प्रतियोगिताबाट बाहिरिने छन् । सर्भाइबल स्टेजका खेलहरू नोभेम्बर २० देखि २२ सम्म चल्नेछन् ।
लास्ट चान्स
यो प्रतियोगिताको फाइनलमा स्थान बनाउने अन्तिम अवसर हो । यसमा सर्भाइबल स्टेजबाट आएका १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
दिनमा ६ खेल गरी दुई दिनमा १२ खेल खेलाइनेछ । १२ खेल सकिएपछि अंक तालिकाको शीर्ष ६ भित्र अटाउने टिमले फाइनलमा स्थान बनाउनेछन् भने बाँकी टिम प्रतियोगिताबाट बाहिरिने छन् । लास्ट चान्सका खेलहरू नोभेम्बर २३ र २४ मा हुनेछ ।
फाइनल
फाइनलमा कुल १६ टिमले पीएमजीसी २०२४ को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा ग्रुप स्टेजबाट आएका नौ टिम, लास्ट चान्सबाट आएका ६ टिम र आयोजकको क्षेत्रको एक टिम खेल्नेछन् । अहिलेसम्म एल्लो ग्रुपका तीन ओटा, रेड ग्रुपका तीन ओटा र आयोजक ‘ गिल्ड ई-स्पोर्ट्स’ गरी फाइनल खेलका लागि सात ओटा टिमको टुङ्गो लागिसकेको छ ।
खेल दिउँसो ४ बजे पब्जी मोबाइल ई-स्पोर्ट्सको फेसबुक पेज तथा युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।