close

नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्स जाँच गर्न ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण

टेकपाना टेकपाना

कात्तिक ३०, २०८१ १७:२

नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्स जाँच गर्न ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण

काठमाडौं । बागमती प्रदेश सरकारले नागरिक एपमा आबद्ध गराइएको डिजिटल सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को नियमन गर्न ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ  । शुक्रबार एक कार्यक्रमबीच प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले ट्राफिक प्रहरीलाई ४०८ थान स्मार्टफोन हस्तान्तरण गरेको हो ।

डिजिटल लाइसेन्स नियमनको नमुना परीक्षण सफल भएपछि ट्राफिक प्रहरीलाई यस्तो डिभाइस वितरण गरिएको हो । यससँगै अब भौतिक रूपमा लाइसेन्स परीक्षण गर्नुपर्ने काम बागमती प्रदेशभर पूर्णतः अन्त्य हुने विश्वास लिइएको छ ।

यसअघि गत ४ कात्तिकबाट भौतिक लाइसेन्स बोक्नु नपर्ने गरी बागमती प्रदेश सरकारले नागरिक एपको डिजिटल लाइसेन्सलाई मान्यता दिएको थियो । 

नागरिक एपमा यदि तपाईँले लाइसेन्स लिङ्क गर्नुभएको छ भने त्यसको तल क्यूआर कोड देखिन्छ । ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ट्राफिक भोयलेसन रजिस्ट्रेसन  सिस्टम (टीभीआरस)मात्रै चल्ने फोन उपलब्ध गराइएको छ । चालकको एपमा देखिएको क्यूआर कोड ड्युटीमा रहेका ट्राफिक प्रहरीले स्क्यान गर्दा त्यसमा चालकको सबै विवरण देखिन्छ । 

सवारी नियम उलङ्घन गरेको खण्डमा प्रहरीले एपबाटै चिट काट्छन् । त्यसपछि यात्रुले तत्कालै ईसेवा वा खल्ती जस्ता डिजिटल वालेटबाट जरिवाना तिर्न सक्छन् । डिजिटल वालेट नभएको खण्डमा भने चिट नम्बर कसैलाई पठाएर भुक्तानीका लागि अनुरोध गर्न सकिन्छ । 

जरिवाना नतिरेको खण्डमा भने एपमा क्यूआर कोड देखिंदैन । क्यूआर कोड नदेखिए लाइसेन्सको जरिवाना तिरेको छैन भन्ने बुझिन्छ । त्यस्तै कक्षा लिनुपर्ने किसिमको सवारी नियम उलङ्घन गरेको खण्डमा भने अनलाइनबाट कक्षा लिनुपर्ने व्यवस्था पनि सुरु हुँदैछ । 

नागरिक एप प्रयोग नगर्ने प्रयोगकर्ताको सन्दर्भमा भने उनीहरूले भौतिक लाइसेन्स नै देखाउनु पर्ने हुन्छ । ट्राफिक नियम उलङ्घन गरेको खण्डमा प्रहरीले लाइसेन्स लिन्छन् । उक्त लाइसेन्स लिन चालक सम्बन्धित कार्यालयमा पुग्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

ट्राफिक नियम उल्लङ्घन गर्नुभयो ? नागरिक एप प्रयोग गरी यसरी तिर्नुहोस् जरिवाना

आजदेखि ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने, नागरिक एपले नै सबै काम गर्ने

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८१ १८:६