close

माइक टाइसन भर्सेस जेक पलः बक्सिङभन्दा नेटफ्लिक्सको लाइभ स्ट्रिमिङले दर्शक दिक्क

टेकपाना टेकपाना

मंसिर १, २०८१ १५:३५

माइक टाइसन भर्सेस जेक पलः बक्सिङभन्दा नेटफ्लिक्सको लाइभ स्ट्रिमिङले दर्शक दिक्क

काठमाडौं । शनिवार (आज) अमेरिकाका महान बक्सर माइक टाइसन र चर्चित युट्युबर जेक पलबीच प्रतीक्षित बक्सिङ खेल सम्पन्न भयो । सामाजिक सञ्जालमा निकै समयअघिदेखि चर्चामा रहेको यो खेल बक्सिङ प्रेमीका लागि निकै प्रतिक्षित थियो ।

यसका विभिन्न कारण थिए । जस्तो- युट्युबरबाट बक्सर बनेका २८ वर्षीय पल र ५८ वर्षीय टाइसनबीच उमेरमा ३१ वर्षको भिन्नता हुनु, व्यावसायिक बक्सिङबाट सन्यास लिएको २० वर्षपछि टाइसन खेलमा फर्कनु, अहिलेसम्मकै सबैभन्दा ठूलो बक्सिङ खेल भनेर प्रचार गर्नु, दुवै खेलाडीले खेललाई अन्तिम जस्तो गरी चर्चा गर्नु आदि ।

त्यसमाथि यो खेल ओटीटी प्लेटफर्म नेटफ्लिक्सले प्रत्यक्ष प्रसारण गर्दै थियो । परम्परागत रूपमा बक्सिङका खेलहरू टेलिभिजनमार्फत प्रसारण हुने गरे पनि यो खेल ओटीटीमा देखाइँदै थियो । नेटफ्लिक्सजस्तो स्ट्रिमिङ प्लेटफर्ममा खेल आउने भनेपछि धेरै दर्शकहरू अन्योलमा परेका थिए ।

सो खेल हेर्न नेटफ्लिक्स प्रयोगकर्ताले अतिरिक्त शुल्क तिर्नु पर्दैन थियो । तर खेल दौरान लाइभ स्ट्रिमिङमा बारम्बार समस्या आएको थियो । विश्वभरका हजारौं दर्शकले खेल हेर्न नपाएको निराशा सामाजिक सञ्जालमा पोखिरहेका छन् । उनीहरूले सञ्जालमा खेल सुरु हुनु अगावै स्ट्रिमिङमा कठिनाइ भोग्नु परेको दु:खेसो पोखेका छन् । अझ धेरैले खेल पनि रोचक नभएको र नेटफ्लिक्स क्र्याश हुँदा खेलको अनुभव झन् नराम्रो भएको प्रतिक्रिया दिइरहेका छन् ।

कुनै पनि वेबसाइट डाउन भए/नभएको जानकारी दिने डाउन डिटेक्टरका अनुसार आज विश्वभरबाट ८५ हजारभन्दा बढी प्रयोगकर्ताले खेल समयमा नेटफ्लिक्स क्र्याश भएको रिपोर्ट गरेका थिए । तर कम्पनीले क्र्याश हुनुको कारण खुलाएको छैन ।

अहिले धेरै दर्शकहरूले प्रत्यक्ष प्रसारणका लागि नेटफ्लिक्स राम्रो विकल्प नभएको प्रतिक्रिया दिएका छन् । सम्भवतः सोचेभन्दा बढी ट्राफिक आएका कारण नेटफ्लिक्सको सर्भर क्र्याश भएको अनुमान गरिएको छ ।

उक्त खेल जेक पलले आफ्नो पोल्टामा पारेका थिए ।

पछिल्लो अध्यावधिक: मंसिर १, २०८१ १६:४५