close

कसैकसैलाई आफ्नै फोटो किन मन पर्दैन ?

टेकपाना टेकपाना

मंसिर १, २०८१ १६:५०

कसैकसैलाई आफ्नै फोटो किन मन पर्दैन ?

काठमाडौं । ‘ऐनामा आफूलाई ठीकै देखिएको थियो, तर फोटोमा कस्तो कस्तो देखियो !’ सायद तपाईंले पनि यस्तो अनुभव गर्नुभएको होला । धेरैले यस कुरामा असहज र नराम्रो माने पनि वैज्ञानिकहरूका अनुसार यो सामान्य मानवीय प्रतिक्रिया मात्र हो ।  

न्युरोसाइन्स एन्ड कन्ज्युमर साइकोलजीका प्रोफेसर डा. म्याट जोनसनका अनुसार 'मेयर-एक्सपोजर इफेक्ट' (mere-exposure effect) का कारण यस्तो हुने गर्छ । यसले कुनै चिजलाई जति हेरिन्छ, त्यसलाई त्यति मन पराइन्छ भन्ने तर्क गर्छ ।

मान्छेले वास्तविक जीवनमा दैनिकजसो ऐना हेर्छ । यसले उसलाई उल्टो आकृति हेर्ने बानी परिसकेको हुन्छ । किनकि ऐनाले वस्तुलाई उल्टो देखाउने गर्छ । तर फोटोमा सुल्टो अथवा वास्तविक आकृति देखिन्छ । यसले गर्दा फोटोमा भएको दृश्य मनोवैज्ञानिक रूपमा असहज लाग्छ ।

यसकारण मान्छेलाई आफ्नै फोटो नयाँ र अनौठो लाग्छ । तर यसबाहेक अन्य केही कारण पनि छन्:  

बेग्लै कोण

हाम्रो मस्तिष्कले आफूलाई ऐनामा जस्तो देख्छ, त्यसलाई वास्तविकता ठान्छ । तर, क्यामेराले खिचेको फोटोले हाम्रो छविलाई फरक कोणबाट देखाउँछ, जसले असजिलो महसुस गराउन सक्छ । फोटो खिच्दा ऐनामा नदेखिएका कोणहरूबाट खिचिन्छ । यसले गर्दा ती कोणहरू कतिपयलाई असहज र नराम्रो राख्ने गर्छ । 

नियन्त्रणको अभाव

फोटो खिच्दा विभिन्न पोजमा खिचिन्छ । त्यसक्रममा क्यान्डिड फोटो खिच्न हामीले कुनै पनि योजना बनाउँदैनौ । तर धेरैलाई त्यस्तो फोटो मन नपर्न सक्छ ।

उच्च अपेक्षा

कतिपयले आफ्नो फोटो खिच्दा धेरै नै राम्रो आउँछ भनेर अपेक्षा गर्छन् । अनि फोटो हेर्दा राम्रो पक्ष हेर्ने भन्दा पनि आफ्नो फोटोमा भएका स-साना त्रुटिहरू हेरिरहेका हुन्छन् । क्यामेराको एङ्गल, प्रकाशको व्यवस्था र फिल्टरहरूको प्रयोग सही नहुँदा फोटोले वास्तविक व्यक्तित्वलाई प्रस्ट देखाउन सक्दैन । 

तुलना

सामाजिक सञ्जालमा देखाइने ‘परफेक्ट’ फोटोहरूका कारण मानिसहरू आफूलाई अरूसँग तुलना गर्न थाल्छन् । यस्तो तुलना गर्दा आफ्नै फोटो असामान्य वा नराम्रो लाग्न सक्छ । सामाजिक सञ्जाल तथा अनलाइनमा फिल्टर तथा एडिट गरिएका फोटोहरू हुन्छन् । यसले गर्दा आफ्नो फोटो खिच्दा पनि त्यस्तै फोटोको अपेक्षा राखिन्छ । तर त्यस्तो फोटो बनाउन थप सम्पादनको आवश्यकता पर्ने कुरा धेरैले बिर्सिरहेका हुन्छन् ।

स्पटलाइट इफेक्टको प्रभाव  

मनोवैज्ञानिकसँग सम्बन्धित ‘स्पटलाइट इफेक्ट’का अनुसार हामी आफ्ना कमजोरीलाई अरूले पनि त्यत्तिकै ध्यान दिइरहेको भ्रममा पर्छौं । तर वास्तविकतामा अरूले पनि आफ्नो कमजोरीमै ध्यान दिइरहेका हुन्छन् ।

यसबाहेक पनि धेरै मानिस आफ्नो लुक्सप्रति असन्तुष्टि महसुस गर्छन् । साना दोष वा तौल, छालाको समस्या, कपालको अवस्थाजस्ता कुरामा अत्यधिक ध्यान दिने गर्दा आफ्नै फोटो मन नपर्ने हुन्छ । त्यस्तै कुनै व्यक्ति आफ्ना अतीतका नकारात्मक अनुभव र सम्झनाहरूसँग जुध्न चाहँदैनन् । यस्ता मानसिक तत्वले उनीहरूलाई आफ्नो फोटो हेर्न मन लाग्दैन । 

यदि तपाईं पनि आफ्नो फोटो मन नपर्ने समस्यामा हुनुहुन्छ भने केही सरल र प्रभावकारी उपाय अपनाउन सक्नुहुन्छ । पहिलो कुरा त, आत्मविश्वासको स्तर बढाउनका लागि आफूलाई सकारात्मक दृष्टिकोणबाट हेर्नुहोस् र आफ्नो शारीरिक र मानसिक अवस्थालाई स्वीकार्नुहोस् ।

सामाजिक सञ्जालमा अरूसँग‍ तुलना नगरी आफ्नै व्यक्तिगत आकर्षणमा ध्यान दिनुहोस् । फोटो खिच्दा सही प्रकाश, एङ्गल र आरामदायी पोजको प्रयोगले तपाईंको फोटोको गुणस्तर सुधार्न मद्दत पुर्याउँछ । यदि तपाईंलाई अझै असन्तुष्टि र आत्मसन्देहको अनुभव भइरहेको छ भने मनोवैज्ञानिक परामर्श सहयोग लिनु पनि एक प्रभावकारी कदम हो ।

पछिल्लो अध्यावधिक: मंसिर १, २०८१ १७:१८